घुस्याहा सुब्बा अख्तियारको फन्दामा
काठमाडौं, २२ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नायव सुब्बा हरिवंश कार्की झण्डै ७२ लाख रूपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ ८ बजेतिर धुम्बाराहीको मुनलाइट क्याफेबाट कार्कीसँगै दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम अधिकारीलाई पक्रेको हो । घुस लिएको रकम दुई झोला र एक पोकामा थियो ।
दुई बटा गाडीमा रहेका उनीहरूको साथबाट नगद २१ लाख ४० हजार बरामद भएको छ । उक्त रकम दुई बटा पोकामा थियो । एउटा प्लाष्टिकको झोलामा पत्रिकाले बेरेर राखिएको थियो भने अर्को जेब्रा झोलामा राखिएको थियो ।
कार्कीको घरमा पनि रकम लुकाएर राखेको खबर पाएपछि अख्तियारको टोली आकाश धारा पुगे । तर, कार्की पक्राउ परेको थाहा पाएपछि उनकी श्रीमती पैसा र गहगहना लिएर प्रहरी आउनु अघि नै निस्किइन् ।
धुम्बाराहीस्थित छोरीको साथीको घरमा उनले तीन बास हुने भयो, केही पुरानो कपडा राखिदिनु भन्दै पुगेको र भुइतलामा रहेको टहरोको साँचो नभेटिएपछि बाहिर प्लाटिकका ड्रम भएको ठाउँमा पुराना कपडा भएकाले भोलि लैजाउँला भन्दै त्यही राखेकी थिइन् ।
तर केहीबेरमा कार्कीका श्रीमतीलाई खोज्दै प्रहरी पुगेर खानतलासी गर्दा भने घर कम्पाउण्डमा रहेको रातो झोलामा ५० लाख ९५ हजार नगद राखेको प्रहरीले फेला पारेको हो ।
साथमा केही गहना पनि फेला परेको छ । पक्राउ परेका कार्कीले भने हाकिमका लागि रकम लिएको भन्दै सुदिपचन्द्र साहको नाम लिएका छन् । अबैध सुन तस्करी गर्दा पक्राउलाई छुटाउन रकम लिन भनेपछि आफूले लिएको उनको भनाइ छ ।
पक्राउ परेका एजेन्ट भट्टराईले भने अभिषेक सरकारलाई छुटाउन रकम दिएको बताएका छन् । अधिकारीले भने सँगै आएका कारण आफू परेको दावी गरेका छन् । अख्तियारको टोलीले दुई वटा गाडी पनि नियन्त्रणमा लिएको छ ।
धुम्बाराहीमा गाडीमा दुई बटा पोकामा पैसा भेटिएको थियो । अबैध सुन तस्करी गर्दा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै घुस लेनदेन भएको अख्तियारको आशंका छ । अवैध सुन ल्याउँदा पक्राउ परेका भारतीय नागरिकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् ।