लाइसेन्स लिने उमेर हद बढाउन सुझाब

२०७१ कार्तिक २३ गते, आईतवार

काठमाडौ, २३ कात्तिक। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन टोलीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाई व्यावसायिक र गैरव्यावसायिकमा विभाजन गर्नुपर्ने सुझाव दिएको छ । अनुभव नभएका चालकले सार्वजनिक सवारी चलाउँदा दुर्घटना बढेपछि यस्तो व्यवस्था गर्न डोटी बस दुर्घटना छानबिन समितिले सुझाएको हो । श्रेष्ठको संयोजकत्वमा गठित समितिले लाइसेन्स दिँदा नै कस्तो खालको चालक हो भन्नेबारे उल्लेख हुनुपर्ने प्रस्ताव गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी केशव अधिकारीले यस्तो व्यवस्थाले चालकलाई जिम्मेवारीबोध गराउने र दक्ष व्यक्तिले मात्रै लाइसेन्स पाउने बताए । साथै, त्यसका लागि कडा परीक्षा र तालिम व्यवस्था गर्नुपर्ने समितिले सुझाव दिएको छ । परिपक्व र जिम्मेवारीबोध गराउन निश्चित उमेर र शिक्षा हुनुपर्नेसमेत औंल्याएको छ । यो व्यवस्था गर्न सवारी व्यवस्था ऐन, २०४९ परिवर्तन गर्नुपर्ने हुन्छ । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार लाइसेन्स लिने उमेर हद बढाउने प्रक्रिया अघि बढिसकेको छ । लाइसेन्स लिन एसएलसी पास भएको हुनुपर्ने मस्यौदासमेत तयार गरिएको थियो । तर, कार्यान्वयन गर्न अघि बढाएको छैन । ट्राफिक नियमको प्रशिक्षण र प्रयोगात्मक परीक्षापछि मात्रै लाइसेन्स दिने व्यवस्था कडाइका साथ पालना गराउन समितिले सुझाव दिएको छ ।
चालकको लापरबाही र हेल्चेक्र्याइँबाट भएको दुर्घटनामा बढीमा २४ दिनको हिरासतबाहेक अन्य सजाय र आर्थिक दायित्व बहन गर्नु पर्दैन । हिरासतमा बस्दा पनि मजदुर संघ/संगठनले भत्ता दिने गर्छन् । यसले चालकमा दुर्घटना बढाउन थप हौसला बढाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]