चिनियाँ विदेशमन्त्री आउँदै

२०७१ पुष १० गते, बिहीबार

काठमाडौ । चीनका विदेशमन्त्री वाङ यी तीनदिने ‘सद्भावना भ्रमण’का लागि आज दिउँसो काठमाडौं आउने भएका छन्। चीनका राष्ट्रपति सी जिनपिङले छिमेकी मुलुकलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेपछि चीनका विदेशमन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन्।विदेशमन्त्री वाङ दोस्रो संविधानसभा निर्वाचनपछि चीनको उच्चस्तरीय भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्। ‘यो सद्भावना भ्रमण हो। सद्भाव वृद्धि गर्ने र दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने हो’, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, ‘दुईपक्षीय बैठकमा हामी नेपाल र चीनका विभिन्न विषयमा धेरै छलफल गर्छौं।’
परराष्ट्रमन्त्रीस्तरीय दुईपक्षीय बैठक शुक्रबार सोल्टी होटेलमा हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रीस्तरमा दुईपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ।
नेपाल मामिलाका जानकार विदेशमन्त्री वाङले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्री पाण्डेले राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालासँग शुक्रबार नै भेटवार्ता हुने जानकारी दिए। पाण्डेका अनुसार विदेशमन्त्री वाङले सशस्त्र प्रहरी प्रतिष्ठान र सिभिल अस्पताललाई केही सामग्री हस्तान्तरण गर्नेछन्।
उनले सिभिल अस्पतालका लागि २० करोड बराबरका २६ वटा चिकित्सकीय उपकरण सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई शुक्रबार बिहान हस्तान्तरण गर्ने कार्यक्रम छ।
वाङले चिनियाँ राजदूत ऊ छुन्थाईद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नेछन्। स्रोतका अनुसार वाङले स्वास्थ्यमन्त्री खगराज अधिकारी, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतासँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
विदेशमन्त्री वाङले नेपाली नेतासँगको भेटवार्तामा राष्ट्रपति सीले अगाडि बढाएको छिमेक नीतिबारे छलफल गर्नेछन्। यसअघि छन फङ सियाङले पनि राष्ट्रपति सीद्वारा लिखित ‘दी गभर्नेन्स अफ चाइना’ नामक पुस्तक नेपाली नेतालाई उपहार दिएका थिए।
वाङको भ्रमणलाई राष्ट्रपति सीको भ्रमणको पूर्वतयारीका रूपमा लिइएको छ। चीनका राष्ट्रपति तहबाट नेपाल भ्रमण नभएको १८ वर्ष भएको छ।
नेपाल-चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षका अवसर पारेर राष्ट्रपति सीले भ्रमण गर्ने तयारीको रूपमा विदेशमन्त्री वाङको भ्रमणलाई हेरिएको छ।
वाङलाई भक्तपुरको नगरकोट भ्रमण गराउने कार्यक्रम पनि तय भएको छ। विदेशमन्त्री वाङको सम्मानमा परराष्ट्रमन्त्री पाण्डेले रात्रिभोज दिनेछन्। वाङ शनिबार बंगलादेश प्रस्थान गर्नेछन्।

प्रतिक्रियाहरु

[anycomment]