माघ ८ मा संविधान नआउने
काठमाडौ । संविधानका विवादित विषयमा सहमति खोज्ने जिम्मेवारीसहित गठन गरिएको चार दलीय कार्यदल सहमति जुटाउन असफल भएको छ ।
कार्यदलमा सहमति नजुटेपछि विवादित विषयको टुंगो लगाउने जिम्मेवारी पुनः शीर्ष नेतालाई नौ दिइएको कार्यदल सदस्य एवम् सदभावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । शनिबार नै म्याद सकिए पनि सहमतिका लागि अन्तिम प्रयास भन्दै आइतबार पनि कार्यदल बैठक बसेको थियो ।
तर कार्यदलमा पनि दलीय अडान दोहोरिएपछि पुनः विवाद समाधान गर्ने जिम्मेवारी शीर्ष नेतालाई नै दिइएको हो । ‘कार्यदलमा पनि आ–आफ्नै अडान दोहो¥याउने काम भयो’, मधेसी मोर्चाका तर्फबाट कार्यदलमा रहेका कर्णले भने, ‘हामीले सहमति जुटाउन सकेनौं, फेरि शीर्षतहमै छलफल गर्न सुझाव दिएका छौं ।’
उनले विवादित विषयमा सहमति खोज्ने प्रयासमा सोमबार शीर्ष नेताको बैठक बस्ने बताए । विवादित विषयमा सहमति जुटाउन सुझाव दिन भन्दै प्रमुख तीन दल र मधेसी मोर्चाले
कांग्रेस महामन्त्री कृष्ण सिटौला, एमाले उपाध्यक्ष भीम रावल, एमाओवादी महासचिव कृष्णबहादुर महरा र सदभावना सह–अध्यक्ष कर्ण सम्मिलित चार सदस्यीय कार्यदल गठन गरेका थिए ।
संविधान जारी गर्ने समयसीमा माघ ८ आउन तीन साता मात्र बाँकी छँदा दलहरुबीच राज्यपुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे अझै कुरा मिल्न सकेको छैन । कार्यदल समेत सहमति जुटाउन विफल भएपछि माघ ८ मा संविधान आउने सम्भावना कम भएको ठानिएको छ ।