६ गते नेपाल बन्द

२०७१ माघ १ गते, बिहीबार

काठमाडौं । एकीकृत नेकपा माओवादीसहितका ३० दलले माघ ५ गतेका लागि तय गरिएको आमहड्ताल फिर्ता लिएका छन् । ३० दलीय मोर्चाको बुधबार सिंहदरबारमा बसेको बैठकले ५ गतेको आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । बैठकले ५ गतेको सट्टा ६ गते नेकपा–माओवादीसँग मिलेर नेपाल बन्द गर्ने निर्णय गरेको छ । नेकपा माओवादीले ३० दलसँग सहकार्य गर्न माघ ३ गतेका लागि तय गरिएको बन्द फिर्ता लिइसकेको छ ।
बैठकमा सहभागी एमाओवादी प्रवक्ता दिनानाथ शर्माले पहिचानसहितको संविधान बनाउनुपर्ने मागलाई सशक्त बनाउनका लागि माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।
पुस २५ गतेदेखि २९ गतेसम्म विभिन्न क्षेत्रमा आह्वान गरेको आमहड्ताल प्रभावकारी नभएपछि ३० दल नेकपा–माओवादी र अन्य समुहसँग सहकार्य गर्ने निर्णयमा पुगेका हुन् । आन्दोलनमा सहभागीताको विषयमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँग पनि छलफल भैरहेको ३० दलका नेताले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]