राप्रपा नेपाल संविधानसभा घेराउ गदै

२०७१ माघ ४ गते, आईतवार

काठमाडौ, ४ माघ । राप्रपा नेपालले नयाँ संविधानमा हिन्दु राष्ट्रको सुनिश्चितता , धर्मनिरपेक्षता, गणतन्त्र, र संघीयताबारे जनमतसंग्रहको माग गर्दै संविधानसभा घेराउ गर्ने भएको छ।पार्टीको केन्द्रीय समितिले पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गर्दै आज संविधानसभा घेर्ने निर्णय गरेको हो। आज मध्यान्ह बबरमहलबाट विभिन्न नारा लगाउदै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा अगाडि बढ्ने जुलुसले संविधानसभालाई घेराउ गर्नेछ। उपत्यकाका तीन जिल्लाका कार्यकर्ता बबरमहलमा जम्मा भइ संविधानसभा घेराउमा सहभागी हुनेछन्।
यसअघि हिजो उपत्यका बाहिर ७२ जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेको थियो। आज बानेश्वरमा संविधानसभा घेराउ पछि पार्टी अध्यक्ष कमल थापा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
सो पार्टीले संविधानमा सहमति नभएकोले विवादका बिषय समेत टुंगो लगाउन जनमत संग्रह बाहेक अरु प्रक्रिया आफुलाई मान्य नहुने घोषणा गरेको छ।
त्यसैगरी हिन्दु राष्ट्र कायम गर्न संचालन गरेको हस्ताक्षर माघ ६ गते संविधानसभा अध्यक्षलाई सो पार्टीले बुझाउने भएको छ। सो पार्टी प्रचार विभाग सदस्य राजाराम बर्तोलाका अनुसार देशभरीबाट करिव ३५ लाख हस्ताक्षर पार्टी कार्यालयमा आइपुगेका छन्।
सो पार्टीले गत कात्तिकको लक्ष्मीपुजाको दिन पारेर नयाँ संविधानमा हिन्दु राष्ट्र लेखियोस भनी यसको पक्षमा हसताक्षर अभियान शुरु गरेको थियो। देशका विभिन्न जिल्लाबाट ती हस्ताक्षर प्राप्त भइरहेको र सोमबार बिहान सम्म यो जारी रहने पनि बर्तोलाले बताए।

प्रतिक्रियाहरु

[anycomment]