माओवादी आयल निगम घेर्दै

२०७१ माघ १५ गते, बिहीबार

काठमाडौं, १५ माघ । पेट्रोलियम पदार्थको मुल्य घटाउन माग गर्दै नेकपा माओवादीले नेपाल आयल निगम घेराउ गर्ने भएको छ ।आज दिउसो माओवादीका उच्च स्तरका नेतासहितको टोलीले निगम केन्द्रीय कार्यालय घेराउ गरेर ज्ञापन पत्र समेत बुझाउने माओवादीले बताएको छ ।
निगमले स्वचालित मुल्य प्रणाली लागु गरे पनि इन्धनको मुल्य अन्तर्राष्ट्रिय मुल्य अनुसार नघटाएको भन्दै सर्वसाधारणमा व्यापक आक्रोश पैदा भइरहेको छ । एकातिर इन्धनको मुल्य घटाइएको छैन भने अर्कोतिर सहज आपूर्ती भइरहेको छैन । त्यसैगरी अहिले बजारमा ग्याँसको ठूलो हाहाकार मच्चाइएको छ । चर्को मुल्य लिएर ठूला व्यापारीहरुलाई ग्याँस सहज रुपमा आपूर्ती गर्ने तर सर्वसाधारणलाई मर्कामा पार्ने गरी निगम र व्यापारीहरु लागि परेका छन् । सोही विषयलाई लिएर नेकपा माओवादीले निगमलाई घेराउ गरी मुल्य घटाउन दवाव दिन थालेको हो । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निगम दलालहरुको दवावमा परी जनतामाथि दोहन गर्न लागिपरेको बताए । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य बढेका बेला ह्वात्त बढाएर जनतामाथि मार पार्ने निगम घटेका बेला भने मुल्य घटाउन मान्दै नमानेकाले अब जनता त्यसको प्रतिरोधमा उत्रने प्रवक्ता प्रकाण्डले बताए ।

आज हुने घेराउ कार्यक्रम अघि नेकपा माओवादीले सुन्धाराबाट जुलुस निकाल्ने भएको छ । शान्तिपूर्ण रुपमा हुने उक्त जुलुस सुन्धाराबाट सुरु भई बबरमहलस्थित निगमको कार्यालयमा पुग्नेछ । माओवादी प्रवक्ता प्रकाण्डले इन्धनको मुल्य घटाउने विषय सबैको चासोको विषय भएको भन्दै आम जनतालाई घेराउ कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
बबरमहलमा हुने घेराउ कार्यक्रममा माओवादीका उच्च तहका नेताले सम्वोधन गर्ने बताइएको छ । सो क्रममा उनले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]