अखिलका अध्यक्ष ‘मानव बेचबिखन’मा संलग्न
काठमाडौं, २९ माघ। नेकपा एमालेसमर्थित अनेरास्ववियूका अध्यक्ष किशोरविक्रम मल्ल ‘मानव बेचबिखन’मा लागेको भन्दै कारवाहीका लागि अखिल नेताहरुले अनुशासन कमिटीलाई गुहारेका छन् ।विद्यार्थी नेता मल्लले विभिन्न व्यक्तिलाई जर्मनी पठाइदिने भनेर लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । मल्लविरुद्ध दुईजना पीडितले ५/५ लाख रुपैयाँ ठगिएको आरोपसहित उजुरी गरेपछि अखिलका पदाधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी निलम्बन गर्न माग गरेका छन् ।ठगी प्रकरणबारे गृहमन्त्री वामदेव गौतमलाई समेत जानकारी गराइएको तर, गृहमन्त्रीले अहिलेसम्म मल्लको संरक्षण गरेको गुनासो अनेरास्ववियुका नेताको छ ।विद्यार्थी नेता मल्लले पैसा खाएर विदेश पठाएका व्यक्ति नक्कली भिसाका कारण एयरपोर्टमा पुगेर फर्केपछि यो प्रकरण सतहमा आएको हो ।
यसैवीच काठमाडौंका वाल्मिकी क्याम्पसमा सम्पन्न अनेरास्ववियूका केन्द्रीय पदाधिकारीको भेलाले मल्ललाई तत्काल अध्यक्षबाट निलम्बन गर्न माग गरेको छ । पूर्वअखिल अध्यक्ष रामकुमारी झाँक्रीसमेत सहभागी रहेको भेलाले मल्ल सहभागी हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।
‘अध्यक्षले गम्भीर अपराध गरेकाले तल्काल निलम्बन गरियोस् भनेर पार्टीको केन्द्रीय अनुशासन आयोगमा पत्र बुझाए पनि अहिलेसम्म पार्टीले रेस्पोन्स गरेको छैन,’ अनेरास्वियुकी केन्द्रीय सचिव भक्तकुमारी लामाले अनलाइनखबरसँग भनिन्- ‘मल्ललाई निलम्बन गरिएन भने हामी पार्टी नेतृत्वविरुद्ध संघर्षमा उत्रन तयार छौं, हामी अनेरास्ववियुको छवि बिग्रन दिने छैनौं ।’
सचिव लामाका अनुसार संगठनले मल्ललाई स्पष्टीकरण सोध्दा पनि उनी उपस्थित भएका छैनन् ।
नेकपा एमालेभित्र सरकारको आडमा मानिसहरुलाई विदेश लैजान्छु भन्दै ठगी गर्ने धन्दा जनवर्गीय संगठनका नेताहरुमा मौलाउन थालेको छ ।
यसअघि राज्यमन्त्रीसमेत भइसकेका एमालेका दलित संगठनका नेता जीतु गौतमले झापा पृथ्वीनगरका एमाले कार्यकर्ता सानुकुमार लामालाई कहिले अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै त कहिले अमेरिका पठाइदिन्छु भन्दै दशौंलाख ठगेको समाचार आएको थियो ।
तर, पार्टीले नेता गौतमलाई कारबाही गर्नुको साटो सभासद बनाएको छ । जीतु गौतम केपी ओली पक्षधर नेता हुन् । आफ्नै पार्टीका कार्यकर्ता रहेका पीडित लामाले अहिलेसम्म न्याय पाएका छैनन् ।