आज जनयुद्ध दिवस, विप्लवले नाचघरमा सम्वोधन गर्ने

२०७१ फाल्गुन १ गते, शुक्रबार

काठमाडौं, १ फागुन । नेकपा माओवादीले आज विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदैछ । नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले जनयुद्ध सुरु गरेको थियो । सोही दिनलाई सम्झदै माओवादीले आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीले शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुका साथै चियापान कार्यक्रम पनि राखेको छ । माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले दिएको जानकारी अनुसार आजको ‘शुभकामना आदानप्रदान तथा सामना सांस्कृतिक साँझ’ कार्यक्रममा पार्टीका महासचिव विप्लवले सम्वोधन गर्नेछन् । प्रवक्ता प्रकाण्डले नेवाः राज्य समितिको आयोजनामा बिहान ११ बजे बालाजुमा चियापान आयोजना गरिएको जानकारी पनि दिए । उनले दुबै कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह गरे ।
अपरान्ह ४ बजे सुरु हुने उक्त कार्यक्रममा अन्य माओवादी नेताहरु मणी थापा र मातृका यादवले पनि सम्वोधन गर्नेछन् । केन्द्रीय समितिकै आयोजनामा गर्न लागिएको यो कार्यक्रममा माओवादीको केन्द्रीय सांस्कृतिक टोली सामना परिवारले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गर्ने बताइएको छ । कार्यक्रम अवधिभर माओवादीका प्रमुख नेताहरु रहने बताइएको छ ।
यसैबीच माओवादी महासचिव विप्लवले जनयुद्ध दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै जनताको सत्ता स्थापना गर्ने आफूहरुको यात्रामा प्रतिक्रान्ति भएको बताएका छन् । पुरानै प्रतिक्रियावादी संविधान लादेर प्रतिक्रान्ति थोपर्ने दुस्साहसलाई सफल हुन नदिने बताउँदै फेरि क्रान्तिको उठान गर्ने बताएका छन् । उनले भनेका छन्, “यदि जनतामाथि प्रतिक्रान्ति लादिन्छ भनें क्रान्ति मात्र त्यसको समाधान बन्न पुग्नेछ । क्रान्ति जनताको अधिकार बन्नेछ ।”
२० औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीका महासचिव विप्लवले दिएको सन्देशको पूर्ण विवरण यस प्रकार रहेको छ – “हाम्रो देश, नेपाली जनता र हाम्रो पार्टी महान् जनयुद्धको २० औं जनयुद्ध दिवसको अवसरमा प्रवेश गरेका छौं । यस गौरवपूर्ण खुसीको अवसरमा सबै नेपाली जनता, पार्टीका नेता र कार्यकर्तामा हार्दिक शुभकामना व्यक्त गर्दछौं । महान् जनयुद्धमा वीरतापूर्ण सहादत प्राप्त गर्नुहुने अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । महान् जनयुद्धको अभियानमा राज्यद्वारा बेपत्ता पारिनुभएका महान् वेपत्ता योद्धाहरुप्रति विशेष स्मरणसहित घाइते हुनुभएका वीर योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछौं ।
हाम्रो देश यतिबेला शान्तिप्रक्रियाको डिलमा पुगेको छ । दलालहरुले माओवादीसँग भएका सारा सहमति
(सम्झौता)हरु उल्ट्याउँदै राज्यसत्तालाई एकलौटी कब्जा गर्न पुगेका छन् । जनताका अधिकारहरु धरापमा परेका छन् । देश भ्रष्टाचार, कालोबजारी, तस्करी र महङ्गीको मारमा परेको छ । विदेशी शक्तिकेन्द्रको चलखेल लाजलाग्दो गरी बढेको छ । नागरिकहरुबाट विरोध हुँदाहुँदै राष्ट्रघाती सम्झौताहरु (माथिल्लो कर्णाली, मस्र्याङ्दी, अरुण तेस्रो, कोशी उच्चबाँध) लादिएका छन् । यसबाट देशबासी आक्रोशित भएका छन् ।
दलालहरुका कारण देश भीडन्त उन्मुख छ । परन्तु उनीहरु जनताका आवाजहरु रत्तिभर सुन्ने पक्षमा छैनन् । एक थान जनविरोधी र प्रतिक्रान्तिकारी संविधान बनाउनेतिर दौडिरहेका छन् । उनीहरुको सोचाई जसरी हुन्छ, एक थान संविधान बनाउने भन्दा अर्को छैन । दलालहरु सबै समस्याको समाधान संविधान हो जस्तो गरिरहेका छन् । हाम्रो विचारमा देशलाई माओवादी शक्तिसहितको नयाँ राजनैतिक सहमतिको आवश्यकता छ । हाम्रो पार्टी देशमा राजनैतिक स्थिरता, आर्थिक समृद्धि, जनताका अधिकारको सुनिश्चितता र राष्ट्रिय स्वाधीनता चाहन्छ । यसका लागि संविधान सभाको विघटन र नयाँ राजनैतिक सहमति अनिवार्य छ । यदि यो वास्तविकतालाई सुनिदैन भनें प्रतिक्रान्तिको जवाफ क्रान्तिद्वारा दिनुको कुनै विकल्प नरहेको सच्चाई हामीले बारम्बार उठाइसकेको स्पष्ट छ ।
सबै राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्तिले बुझ्नुपर्दछ कि देश दलालहरुका कारणले भयानक सङ्कटतर्फ बढिरहेको छ । सङ्कटको सर्वसम्मत निकास नयाँ राजनैतिक सहमति हो । त्यसको प्रतिनिधित्व अधिकार सम्पन्न राष्ट्रिय राजनैतिक सभाले गर्दछ । यसको अस्वीकरण भनेको देशमा प्रतिक्रान्ति लाद्नु नै हुन्छ । यदि जनतामाथि प्रतिक्रान्ति लादिन्छ भनें क्रान्ति मात्र त्यसको समाधान बन्न पुग्नेछ । क्रान्ति जनताको अधिकार बन्नेछ । ”

प्रतिक्रियाहरु

[anycomment]