सिमरा आन्दोलन स्थगित
काठमाडौँ, ११ फागुन । बाराको सिमरामा मालपोत र नापी कार्यालय स्थापनाको माग राखेर चार दिनदेखि भैरहेको आम हडताल मंगलबारदेखि स्थगित भएको छ ।सिमरामा सोमबार राती अबेरसम्म बसेको मालोपत तथा नापी कार्यालय स्थापना सरोकार समिति र राजनीतिक दलका नेताहरु सहभागी बैठकले अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य कृष्ण पौडलले बताए ।
बैठकले आन्दोलन अराजक बन्दै गएको तथा प्रहरी प्रशासनले स्थानीयबासिन्दामाथि चरम दमन गरेको ठहर गर्दै आफना माग पूरा गर्न आन्दोलनको स्वरुप परिवर्तन गरि शान्तिपूर्ण दबाबमुलक कार्यक्रम मात्र गर्ने निर्णय गरेको समितिका सदस्य पौडेलले बताए । उनले माग पुरा गराउनका लागि दबाब दिन मगलबार नै एक टोली प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन काठमाडौं जाने निर्णय पनि भएको जानकारी दिए ।
सिमरामा मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारको निर्णय विरुद्ध सदरमुकाम कलैयामा चर्को आन्दोलन भएपछि सरकारले निर्णय स्थगित गरेसँगै फागुन ३ गते देखि चरणबद्ध आन्दोलनमा उत्रिएका सिमराका बासिन्दाहरुले फागुन ८ गतेदेखि भने अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्दै आएका थिए ।