एमाओवादी मोर्चा आमसभा गर्दै
काठमाडौ, १६ फागुन । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज जनप्रदर्शनसहितको आमसभा गर्ने भएकोछ। आमसभाका लागि एमाओवादी नेतृत्वले आफ्ना नेताहरुको कार्यविभाजन गरेको छ । एमाओवादीका उच्च नेतृत्वहरुको पहलमा जुलसलाई शान्तिपूर्ण, मर्यादित र अनुशासित बनाउन
विभिन्न स्थानहरुमा नेताहरु खटिएका छन् । जुलुस खुलामञ्चमा दिनको १२ः४५ बजे पुग्ने र जनसभा १ बजे सुरु हुने बताईएको छ ।
बालाजु र गौशालाको जुलुस कमलपोखरी कृष्ण पाउरोटी चोकमा जुटेर पुतलीसडक, पद्मोदय मोडबाट प्रदर्शनीमार्ग हुँदै विद्युत प्राधिकरण अगाडिबाट खुलामञ्चमा प्रवेश गर्नेछ भने बल्खु र कलंकीबाट आउने जुलुस कालिमाटीमा मिसिएर टेकु त्रिपुरेश्वर, रंगशाला हुँदै वीर अस्पताल अगाडिबाट प्रवेश गर्ने छ ।
त्यसैगरी लगनखेलबाट आउने जुलुस जाउलाखेल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर रंगशाला, वीर हस्पिटल अगाडिबाट खुलामञ्चमा प्रवेश गर्नेछ । तीनकुनेबाट निस्कने जुलुस मिनभवन, बानेश्वर, बबरमहल माइतीघरमण्डला, थापाथली, त्रिपुरेश्वर, रंगशाला, वीरहस्पिटल अगाडिबाट खुलामञ्च प्रवेश गर्नेछ ।
प्रचण्डको मध्य कमाण्ड
मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले कमलपोखरीदेखि खुल्लामञ्चसम्म जुलुसको नेतृत्व गर्नेछन् ।
प्रचण्डले नेतृत्व गर्ने जुलुस बालाजु र गौशालाबाट आएर कमलपोखरीमा मिसिनेछ ।
एमाओवादीका मध्य कमाण्ड इञ्चार्ज समेत रहेका प्रचण्डले नेतृत्व गर्ने जुलुसको सुरक्षाको जिम्मा पूर्वडेपुटी कमान्डरसमेत रहेका जनार्दन शर्मा प्रभाकरले गर्नेछन् ।
शर्मासँगै टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलले बालाजुदेखि नै जुलुसको राजनीतिक नेतृत्व सम्हाल्ने छन् । बालाजुको जुलुसको सुरक्षा जिम्मा वाइसीएल नेता ज्वालाले पाएका छन् ।
बालाजुबाट निस्कने जुलुसमा मधेसको अवध राज्यका कार्यकर्ता सहभागी हुनेछन् । त्यसैगरी बालाजुमा नुवाकोट, रसुवा र काठमाडौंका निर्वाचन क्षेत्र नं ५, ६ र ७ का कार्यकर्ता सहभागी हुने छन् ।
त्यसैगरी गौशालाबाट कमलपोखरी आउने जुलुसको राजनीतिक नेतृत्व गिरीराजमणि पोखरेलले गर्नेछन् भने स्वयंसेवकको कमाण्डिङ विष्णु माझीले सल्हाल्नेछन् । गौशालाको जुलुसमा नुवाकोटको पूर्वी भाग, सिन्धुपाल्चोकको पश्चिमी भाग र काठमाडौं निर्वाचन क्षेत्र नं ३ र ४ का जनता एवं मजदुर सहभागी हुनेछन् ।
बाबुरामको पश्चिम कमाण्ड
एमाओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले कालिमाटीबाट पश्चिम कमाण्डका जिल्लाहरुबाट आएका कार्यकर्ताको नेतृत्व सम्हाल्ने छन् ।
शक्ति बस्नेत र नन्दकिशोर पुनसहित कलंकी र बल्खुबाट आउने जुलुस कालीमाटीमा एकत्रित भएपछि डा. भट्टराई त्यहाँ मिसिने छन् । डा. भट्टराईले नेतृत्व गर्ने जुलुसको सुरक्षा हेर्ने जिम्मा पूर्व डेपुटी कमान्डर बलदेवले लिएका छन् । साथै पूर्वलडाकू गोविन्द बटाला जीवन्तले कालीमाटी ‘आर्क’को जिम्मेवारी सम्हाल्ने छन् ।
बाबुरामले नेतृत्व गर्ने जुलुसमा बूढीगण्डकीदेखि पश्चिम महाकालीसम्मका जिल्लाहरु (अवध बाहेक) बाट आएका कार्यकर्ता सहभागी हुनेछन् ।
कलंकी-बल्खु-कालीमाटीको जुलुसमा धादिङ, चितवन र मकवानपुरको केही भागका कार्यकर्ताहरु सहभागी हुनेछन् । काठमाडौंको हकमा निर्वाचन क्षेत्र नं ८, ९ र १० का कार्यकर्ताले बाबुरामलाई साथ दिनेछन् ।
नारायणकाजीको पूर्वी कमाण्ड
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कोटेशवर नजिकै तीनकुनेबाट पूर्वीकमाण्डका जिल्लाहरुको नेतृत्व गर्नेछन् । तीनकुनेको जुलुसमा हरिबोल गजुरेल, लोकेन्द्र विष्ट र अग्नि सापकोटाको पनि सहभागिता हुनेछ । पूर्वी नेपालका जिल्लाहरुका साथै मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं आउने सिन्धुली रामेछाप, ओखलढुंगा र सोलुसम्मका कार्यकर्ताको नेतृत्व श्रेष्ठले गर्ने छन् ।
श्रेष्ठको कमाण्डमा भक्तपुर, र काठमाडौं निर्वाचन क्षेत्र नं १ र २ का कार्यकर्ताहरु सहभागी बन्ने एमाओवादीले बताएको छ । काभ्रे र सिन्धुपाल्चोकबाट आउने कार्यकर्ताहरु श्रेष्ठको कमाण्डअन्तरगत स्वयंसेवक र सुरक्षाको जिम्मा गंगानारायण श्रेष्ठ, गोपाल किराती र वाइसीएलका प्रमोद, शरद र हेमन्तले गर्नेछन् ।
वर्षमानको ललितपुर कमाण्ड
एमाओवादी सचिव वर्षमान पुनले ललितपुरको लगनखेलबाट निस्कने जुलुसको नेतृत्व गर्नेछन् । यो जुलुसमा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा साथै मकवानपुर र काभ्रेका केही भागका कार्याकर्ताहरुको सहभागिता हुने बताइएको छ । यो जुलुसमा सुरक्षाको जिम्मा वाइसीएल नेता विश्वासलाई दिइएको छ ।
महासचिव महरालाई मञ्चको जिम्मा
एमाओवादी महासचिव कृष्णबहादुर महराको जिम्माचाँहि खुल्लामञ्चको व्यवस्थापन गर्ने परेको छ । महराले खुल्लामञ्चको राजनीतिक कमाण्ड सम्हाल्नेछन् ।
खुल्लामञ्च व्यवस्थापनमा महरालाई झक्कु सुवेदी र शालिकराम जमरकट्टेलले साथ दिनेछन् । मञ्चको सुरक्षा हेर्ने जिम्मा वाइसीएल नेता दीपशिखाले पाएका छन् । मञ्चमा सुरक्षा, पानी, स्वास्थ्य र शौचालयको व्यवस्थापन पनि दीपशिखाकै जिम्मेवारीमा परेको छ ।
राजधानीको चारैदिशाबाट जुलुस निस्कने भएपछि शनिबार राजधानीको आवत-जावत र व्यापार-व्यवसाय प्रभावित हुने देखिएको छ ।
आयोजकहरुले यातायात बन्दको घोषणा गरेका छैनन् । तर, जुलुसका कारण यातायातमा अवरोध पुग्ने प्रायः निश्चित देखिएको छ । एमाओवादी मोर्चाले करीब २ लाख मानिस राजधानीमा उतार्ने दाबी गरेको छ ।
एमाओवादीले सबै राज्य र जिल्लाहरुले झण्डा र व्यानर व्यापक रुपले बनाई जुलुश तथा जनसभामा प्रदर्शन गर्नुपर्ने एमाओवादीले निर्देशन दिएको छ ।
पार्टीका सबै पीबीएम केन्द्रीय सदस्यहरु, संविधानसभा सदस्यहरु, आ-आफ्नो जिम्मा भएका राज्यमा सहभागी हुने जनाइएको छ । जनवर्गीय संगठन, राष्ट्रिय मोर्चाहरु र संघीय जनसम्पर्क मञ्च (गणतान्त्रिक मञ्च) का ब्यानरहरुसहित ५ वटै ठाउँबाट पायकअनुसार सहभागी हुने बताएको छ ।
जनप्रदर्शन अनुगमन गर्न समिति
एमाओवादीले जनप्रदर्शनको अनुगमनका लागि पार्टी प्रवक्ता दीनानाथ शर्माको नेतृत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
समितिमा लिलामणी पोखरेल, हितराज पाण्डे, जोखबहादुर महरा, र डोरप्रसाद उपाध्याय रहेका छन् । अनुगमन समितिका सदस्यहरुले जुलुस, सभा, मञ्च व्यवस्थापन झााकी व्यवस्थापन, स्वयम्सेवक परिचालन, झाण्डा ब्यानर व्यवस्थापन, गाडी पार्किन, खानेपानी, औषधोपचार लगायतको अनुगमन र निरिक्षण गर्ने बताइएको छ ।