विगतमा गल्ती भयो : प्रचण्ड

२०७१ फाल्गुन १६ गते, शनिबार

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेका नेताहरुले फुर्काउँदा आफू फुर्किनु गल्ती भएको स्वीकारेका छन । ‘विगतमा गल्ती भयो, अहिले गरेको छैन’ भन्दै आफूँ अब कहिल्यै नझुक्ने प्रचण्डले बताएका छन । खुल्लामञ्चमा शनिबार भएको आमसभामा उनले भने ‘तपाईहरु ढुक्क हुनुहोस, म मर्न तयार छु, झुक्न तयार छैन ।’
आगामी दिनमा खुल्लामञ्चमा सभा नगर्ने भन्दै उनले भने ‘काठमाडौँको खुल्लामञ्चमा अब यस्तो सभा हुने छैन । सहमतिका लागि कांग्रेस एमाले तयार नभए नेता तथा कार्यकर्ताले जिल्लाजिल्लामा कब्जा गर्न थाल्नेछन ।’
उनले सहमतिको बल कांग्रेस एमालेकै कोटमा भएको तर्क पनि गरे । ‘हामी सहमतिको पक्षमा छौँ । समय छदैँ, बहुमतीय प्रक्रिया रोकेर संवाद समितिबाटै समस्याको समाधान गर्ने बाटोमा फर्कनुहोस’ उनले भने ‘यो अवस्थामा वार्ता हुन सक्छ । प्रक्रियाको नौटंकी जनघाती छ, त्यसको परीणाम भोग्न तयार हुनुहोस ।’वार्ता चाहने कि द्धन्द्ध भन्ने विषय पनि कांग्रेस एमालेकै हातमा भएको उनको भनाई छ । ‘शान्ति सम्झौता लगायत सवै सम्झौता लागु होस भनेका छौँ । कांग्रेस एमालेले सम्झौता तोडेका छन, त्यो सच्चिनुपर्छ’ उनले भने ‘प्रचण्डलाई देखाउँछौँ भन्नुभयो भने कस्ले देखाउँछ भोलि हेर्नुहोला । जंगले बोलेपछि बोल्यो बोल्यो भन्ने हो भने जनता झन जंगे भएर आउने छन ।’कांग्रेस र एमालेको अहिलेको नेतृत्वलाई सहमतिको विषय ज्ञान नभएको पनि तर्क गरे । ‘माधव नेपाल र गिरिजाप्रसादले गरेको योगदानसुशील कोइराला र केपी ओलीले सम्झिउन’ उनले भने ।

प्रतिक्रियाहरु

[anycomment]