राज्य कोषमा काग्रेसको ब्रम्हलुट
काठमाडौं । नेपाली कांग्रेसका स्वच्छ छविका नेता तथा लौह पु?ष स्व. गणेशमानका नाममा ५० लाख रूपैयाँ ‘नीतिगत भ्रष्टाचार’ गरेर गणेशमानको अपमान भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले गणेशमानका नाममा खडा गरिएको नेपाली कांग्रेसको पार्टीगत कार्यक्रमका लागि मन्त्रिपरिषदमार्फत् राज्य कोषबाटै आधा करोड अर्थात ५० लाख रूपैयाँ निकासा गराएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको दबावमा ‘गणेशमान बलिदान यात्रा’ कार्यक्रमका लागि प्रधानमन्त्री कोइरालाले राज्यकोषबाट ५० लाख रूपैयाँ दिलाएको बुझिएको छ । ‘गणेशमान बलिदान पदयात्रा’ रामचन्द्र पौडेलको नेतृत्वमा चलिरहेको छ । मन्त्रिपरिषदको बैठकले कांग्रेसको सांगठनिक कार्यक्रमका लागि राज्य कोषबाट यति ठूलो रकम उपलब्ध गराएको हो । कांग्रेस नेताहरूले चलाएको ‘सामाजिक लोकतन्त्र अध्ययन केन्द्र’ नामक संस्थालाई उपलब्ध गराइएको सो रकम बलिदान अभियानमा कांग्रेस कार्यकर्ता परिचालन एवं खानपिनका लागि खर्च गरिनेछ । क्याबिनेटको निर्णयमा भनिएको छ–‘प्रजातान्त्रिक आन्दोलनका सर्वाेच्च नेता गणेशमान सिंहको जन्म शताब्दीसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई ५० लाख आर्थिक सहायता निकासा गराउने ।’ मन्त्रिपरिषदको निर्णयमा अर्थ मन्त्रालयले शान्ति मन्त्रालयमार्फत् ५० लाख रूपैयाँ आर्थिक सहायता रकम निकासा गर्ने उल्लेख छ ।
कांग्रेसको संगठन परिचालन गर्ने कार्यक्रमका लागि यति ठूलो रकम निकासा गराउँदा सत्ता साझेदार एमालेका मन्त्रीहरूले रोक्न नसकेपछि एमालेभित्रै मन्त्रीहरूको आलोचना भएको छ । एमालेका केही मन्त्रीले यसमा प्रश्न उठाए पनि सुनुवाइ नभएको स्रोतले जनाएको छ । ‘यो त पार्टीको संगठन परिचालन र कार्यकर्तालाई जाँडपानी खुवाउन राज्यकोषको दुरूपयोग हो’ एक मन्त्रीले भने’ प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता र मितव्ययी नाराको खिल्ली उडाए’ ।
कांग्रेस महाधिवेशनको घोषणा भइसकेको अवस्थामा एउटा गुटले सञ्चालन गरेको कार्यक्रमका लागि राज्य कोषबाट रकम निकासा गराएकोमा कांग्रेसभित्रै पनि शेरबहादुर देउवा पक्षधर नेताहरूले असन्तुष्टि व्यक्त गरेको एक नेताले बताए । स्रोतका अनुसार मन्त्रिपरिषदले गरेको यो नीतिगत भ्रष्टाचारबारे सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओलीसमेत असन्तुष्ट छन् । मन्त्रिपरिषदले गरेको निर्णयमा अख्तियारले प्रश्न उठाउन सक्दैन ।