सत्तापक्ष बिपक्षी बैठक बस्दै

२०७१ फाल्गुन २८ गते, बिहीबार

काठमाडौ, २८ फागुन । आज संविधानका विवादित बिषयमा सहमति जुटाउन प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्ने भएको छ । विभिन्न तहको अनौपचारिक संवादपछि औपचारिक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यमा थप गडबडी नभए बैठकमा सहभागी हुने जनाएका छन । सत्तापक्ष र विपक्षी मोर्चाको शनिबार बसेको बैठकले संविधानका विवादित बिषय मिलाउन चार नेतालाई जिम्मेबारी दिएको थियो ।
आज बैठक बस्ने तयारी भएपनि समय यकिन नभएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी मोर्चाका तर्फबाट मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारलाई सहमति जुटाउन बैठकले जिम्मेबार दिएपनि त्यसयता चार नेता एकैठाउमा बसेर छलफल गर्न सकेका छैनन् ।
एमाले अध्यक्ष ओली विरामी भएका कारण बैठक हुन नसकेको हो । मुख्य विवादित बिषयमा शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीमा मोटामोटी सहमति जुटेपनि संघीयताको संख्या र सिमाकंनका बिषयमा सहमति हुन सकेको छैन ।
कांग्रेस र एमालेले पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कंचनपुरको सिमा सम्वन्धी विवाद सम्वन्धित क्षेत्रका बासिन्दाको जनमत मार्फत सल्टाउने विकल्प अघि सार्ने तयारी गरेका छन । त्यसप्रति विपक्षी मोर्चापनि सकारात्मक देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]