ट्राफिक प्रहरीले सार्वजनिक गाडी चढ्ने
काठमाडौं, २९ फागुन । आजदेखि ट्राफिक प्रहरीहरु हरेक शुक्रबार सार्वजनिक गाडीमा कार्यालय आउने र घर फर्कने भएका छन् ।यसअघि कार्यालयको गाडीमा यात्रा गर्ने उपत्यकाका ट्राफिक प्रहरीले शुक्रबारदेखि सार्वजनिक गाडीमा यात्रा गर्ने भएका छन् ।
ट्राफिक नियमको पालना गर्न गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सबै तहका प्रहरी कर्मचारीले सार्वजनिक गाडीमा यात्रा गर्ने महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले बताए । अभियानको रुपमा ट्राफिक प्रहरीले सार्वजनिक रुपमा गाडी चढ्दा अनुगमन र चेकिङको दायरा फराकिलो हुने उनले बताए । उनका अनुसार सादा पोसाकमा ट्राफिक प्रहरी सार्वजनिक गाडीमा चढ्ने भएकाले ट्राफिक नियम उलङ्घनमा कमी आउने तथा सार्वजनिक गाडीमा यात्रुमैत्री वातावरणको सिर्जना हुनेछ ।