सडकमा फोहरको थुप्रो
काठमाडौं, १ चैत। काठमाडौंका सडक दुर्गन्धित भएका छन् । तीन दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडक दुर्गन्धित भएका हुन् । फोहोर कहिलेदेखि उठ्छ भन्ने अझै अनिश्चित छ । काठमाडौं महानगरपालिकासँग आवद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहोरमैला व्यवस्थापनमा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने भन्दै फोहोर नउठाएकोले सडकमा दुर्गन्ध बढेको हो ।
फोहोर कहिलेदेखि उठ्छ भनेर अहिल्यै केहि भन्न नसकिने काठमाडौ महानगरपालिकाका वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले बताउनु भयो । गएको बुधबार दिउँसो फोहोर बोकेर गएको ट्रकको ठक्करले सिसडोलका स्थानीय बालकको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दाले महानगरपालिकका गाडीमा आगो लगाएका थिए । त्यसपछि कर्मचारीहरुले सुरक्षाको प्रत्याभूतिको माग गर्दै फोहोर व्यवस्थापन अवरुद्ध गर्दै आएका हुन् ।
यता ललितपुरका सडकमा फोहोर थुप्रिन थालेको छ । फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्मको लागि नगरवासीलाई फोहोर सडकमा नफाल्नको लागि ललितपुर उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख प्रदीप अमात्यले अनुरोध गर्नुभएको छ । फोहोर व्यवस्थापनमा सधैसधै जसो समस्या आइरहने भएकोले उपमहानगरपालिकाले कौसी खेतीको लागि प्रभावकारी कार्यक्रम ल्याउने तयारी गरेको अमात्यले बताए ।