प्रचण्ड र बैद्यबीच चारबुँदे सहमति
काठमाडौं, १ चैत । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष बैद्यबीच पार्टी एकता र संयुक्त आन्दोलन गर्ने चारबुँदे सहमति भएको छ । प्रचण्डनिवास लाजिम्पाटमा आज दुई माओवादीका पदाधिकारीबीच भएको वार्तामा पार्टी एकतासहितका विषयमा चारबुँदे सहमति भएको हो ।
बैठकले सबै माओवादी र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीच पार्टी एकता आवश्यक रहेको निष्कर्ष निकाल्दै वार्ता समिति बनाएको छ ।
वार्ता समितिमा एमाओवादीबाट अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी छन् भने नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिव देव गुरुङ छन् । वार्ता समितिले पार्टी एकताका लागि बैचारिक राजनीतिक प्रश्नशरुमा साझा निष्कर्ष निकाल्न प्रयास गर्ने जिम्मा पाएको छ ।
साथै प्रचण्ड र बैद्यले पार्टी एकता अभियानमा सहभागी हुन सबै माओवादी र क्रान्तिकारी कम्युनिष्टहरुलाई अपील समेत गरेका छन् ।
प्रचण्ड र बैद्य माओवादीको बैठकले मुलुकमा प्रतिगमन बढेको ठहर गर्दै प्रतिगमन, जनघात, राष्ट्रघात र जनजीविकाका विषयलाई संयुक्त आन्दोलनमा उठाउने सहमति भएको छ ।
यस्तै सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानविसनसहित शान्ति प्रक्रियासँग जोडिएका विषयमा पनि संयुक्त आन्दोलन गर्ने सहमति भएको छ ।
द्वन्द्वकालीन घटना मुद्दा चलाइएको र अझै पक्राउ गर्ने काम भएको भन्दै दुई माओवादीले यसलाई प्रतिगामीकारी कदम भनेका छन् ।