चैत २४ देखि २६ सम्म आम हडताल
काठमाडौँ । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले सहमतिमा संविधान निर्माणका लागि दबाब दिन भन्दै यही चैत्र २४–२६ गतेसम्म देशव्यापी आम हडताल गर्ने घोषणा गरेको छ । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यही चैत ५ गतेदेखि २६ गतेसम्मका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले चैत्र ५ गते सबै जिल्लामा ३० दलीय गठबन्धनको आन्दोलन तयारी बैठक गर्ने, ८ गते सबै जिल्लामा सहमतिमा संविधान निर्माणमा जोड दिंदै महिलामाथिको हिंसा, महङ्गी, कालो बजारी, विद्युत्भार कटौती तथा भ्रष्टाचारलगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई बताए ।
त्यस्तै ३० दलीय विपक्षी मोर्चाले चैत्र ११ देखि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, बहिष्कार एवं अवरोध गर्ने, चैत्र १५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस गर्ने र चैत्र १६ देखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय घेराउ गर्ने मोर्चाले जनाएको छ ।
बैठकले चैत्र १८ गते बेलुकी मसाल जुलुस गर्ने, चैत्र १९ गते देशव्यापी आम हडताल, चैत्र २० गतेदेखि २३ गतेसम्म सरकारी कार्यालयहरु बन्द गर्ने, नाकाबन्दी गर्ने, राजस्व कर असुली रोक्कालगायतका कार्य गर्ने, चैत्र २३ गते साँझ मसाल जुलुस गर्ने र चैत्र २४ गतेदेखि २६ सम्म देशव्यापी आम हडताल निर्णय गरेको छ ।
बैठकपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष दलहरुले जनआन्दोलन एवम् शान्ति सम्झौताका निर्देशनलाई अवज्ञा गर्दै बहुमतीय प्रक्रिया सुरु गरेपछि सहमतिका आधारमा संविधान निर्माणका लागि आन्दोलनमा जानु परेको बताए ।
मोर्चाले प्रधानमन्त्रीले वार्ता एवं सहमतिका लागि गर्नुभएको आह्वान र संविधानसभामा बहुमतीय प्रक्रियाको स्थगनको पृष्ठभूमिमा दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणालाई स्थगित गरेर आफूहरु वार्तामा बसे पनि प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) सहमतिका लागि गम्भीर नभएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सहमतिका आधारमा संविधान निर्माण गर्ने घोषित उद्देश्यलाई केन्द्रमा राखी आन्दोलनको अर्को चरणको कार्यक्रम घोषणा गर्नु बाध्यता र आवश्यकता दुवै बनेको बताउँदै आन्दोलनमा सहयोग गर्न सबैलाई आग्रह गरे ।