पूर्व जनसेना खड्का पक्राउको विरोधमा बझाङ बन्द
काठमाडौँ, ४ चैत । बझाङ जिल्लाका तीनवटै माओवादीले आजबाट जिल्ला बन्द गरिदिएका छन । आफ्ना पूर्व जनसेना गणेश खड्कालाई रिहाई नगरेको भन्दै माओवादीले बन्द गरेका हुन ।२०६२ साल बझाङ शत्रुमर्दन गुल्म पानकोट व्यारेकबाट भागेर भण्डै चार वर्ष माओवादीको जनसेनामा बिताएका खड्कालाई गएको शनिबार प्रहरीले पक्राउ गरेको थियो । सशस्त्र द्वन्द्वकालमा हतियारसहित नेपाली सेनाको ब्यारेकबाट भागेर माओवादीका जनसेना बनेका गणेश खड्कालाई पक्राउ गरी हिरासतमा राखेको छ ।देशमा शान्ति स्थापना भएदेखि रोजगारीका लागि भारत गएका खड्का ९ बर्षपछि घर फर्केका थिए । प्रहरीले खड्का घर आएको मौका छोपी पक्राउ गरेको थियो ।
एकीकृत नेकपा माओवादी, नेकपा (माओवादी) र नेकपा माओवादीले हिरासतमा रहेका पूर्व जनसेना खड्कालाई संयुक्त बिज्ञप्ती जारी गरी बझाङ जिल्ला बन्द घोषणा गरेका हुन । बन्दका कारण जिल्लाभर नै जनजीवन प्रभावित भएको छ । जिल्लामा यातायात, विद्यालय लगाएत पसलह रुसमेत बन्द गरिएका छन् ।