युवासंघका सचिवमाथि सांघातिक आक्रमण
काठमाडौं ६ चैत । एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सचिव अशोक चन्दमाथि विहीबार साँझ बागबजारमा सांघातिक आक्रमण भएको छ ।बागबजारबाट निस्केका चन्दलाई मीनभवनमा पुगेपछि हेल्मेट र मास्क लगाएका ६ व्यक्तिले निर्घात पिटेको युवा संघकी उपाध्यक्ष दिलु पन्तले बताइन् । ‘तँ बढ्ता हुन्छन्, माधव नेपालको पक्षमा लागेर ठूला कुरा गर्छस् भन्दै चन्दलाई कुटपिट गरेको र उनी गम्भीर घाइते भएको स्रोतले बतायो ।चन्दलाई अहिले मीनभवनको सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनलाई विहीबार दिउँसै केही व्यक्तिले केपी ओली र महेश बस्नेतको विरोध गर्दै हिँडेमा ज्यान मारिदिने धम्की आएको स्रोतले बतायो ।
‘हामीले युवासंघभित्रको गुणगर्दीको विरोध गर्दै आएका थियौं, उनीहरुले एक एक गरेर हामीलाई सिध्याउने धम्की दिँदै आएका थिए’ माधव नेपला पक्षकी नेतृ पन्तले भनिन्, ‘यो घटनामा संस्थापन पक्षको संलग्नता रहेको प्रष्टै छ, यसबाट हाम्रो पार्टी कहाँ पुग्यो भन्ने स्पष्ट भएको छ ।’
घटनापछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका नेतासँगको टेलिफोनमा आफ्नै साथीबाट यसरी आक्रमण हुनु आश्चार्यजनक भएको बताएका छन् ।