माओवादीका नेतालाइ सार्बजनिक मुद्दा चलाउने तयारी
काठमाडौं, ८ चैत । नेकपा माओवादीका १७ नेता र कार्यकर्तालाई सार्बजनिक अपराधको मुद्दा चलाउने तयारी भएको छ । प्रहरीले लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको घरमा कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई सो मुद्दा चलाउने तयारी गरेको हो ।
प्रहरीले कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति लिएको छ । उनीहरुलाई गत शुक्रबार महाराजगञ्ज प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरुमा पोलिटव्युरो सदस्य तथा नेवाः राज्य समिति इञ्चार्ज ईश्वरी दाहाल ‘असारे काका’ लगायत छन् ।
उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो । महानगरीय प्रहरी परिसर हनुमानढोकाका डिएसपी दिनेश आचार्यका अनुसार पक्राउ परेका सबैलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जानकारी दिए । माओवादी नेता कार्यकर्ताहरुलाई सार्बजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्रेको विरोधमा माओवादीले नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । माओवादी कार्यकर्ताहरुले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो ।