माओवादी र एमालेबीच गोली हानाहान
काठमाडौ, ९ चैत । धनुषाको सबैला नगरपालिका १ स्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनको क्रममा झडप हुँदा दुईजनाको ज्यान गएको छ । मदन आश्रित निमाविको व्यवस्थापनको समितिको नेतृत्व चयनको क्रममा दुईपक्षबीच झडब भएको हो । सोमबार राति भएको विवादले उग्ररुप लिएपछि गोलिहानाहानसम्म पुगेको हो । सो झडबमा अर्का दुई जना गम्भिर घाइते भएका छन् ।
व्यवस्थापन समितिको अध्यक्ष चयनबारे नेकपा माओवादी मातृका यादव समुह र नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादव समुहका कार्यकर्तावीच झडप भएको थियो । झडपका क्रममा ३० वर्षीय रामसेवक राउतमाथि विद्यालय परिसरमै गोली हानिएको थियो । गोली लागेपछि उपचारका लागि काठमाडौं लाने क्रममा उनको बाटैमा गएराति नै ज्यान गएको हो ।
प्रहरीका अनुसार विद्यालयमा भएको झडपको करिब तीन घण्टापछि सोही वाडका ४२ वर्षीय कृषक रामप्रकाश यादवको पनि गोली हानी हत्या गरिएको थियो ।
यादवको शरिरमा पाँच राउण्ड गोली हानिएको थियो । व्यवस्थापन समितिको अध्यक्षको विवादमा गम्भीर घाइते रामसागर साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका राउत र घाइते साह मातृका यादव माओवादीका कार्यकर्ता रहेको जनाइएको छ । घट्नाबारे छानविन सुरु गरिएको प्रहरीले जनाएको छ ।