गिरफ्तार गरिएका माओवादी नेता र कार्यकर्ता रिहा

२०७१ चैत्र १० गते, मंगलवार

काठमाडौँ, १० चैत । नेकपा माओवादीका दुई पोलिटब्यूरो सदस्यसहित १५ जना कार्यकर्ताहरु रिहा भएका छन् । गतशुक्रबार नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउ कार्यक्रमबाट समातिएका माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका), पूर्व मन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य पदम राई, मजदुर नेता प्रेम दर्नालसहित १५ जनालाई हिजो साँझ रिहा गरेको हो ।
रिहा भए लगत्तै पोलिटब्यूरो सदस्य असारे काकाले नेपालको कानुनले प्रत्याभूत गरेवमोजिम शान्तिपूर्ण विरोध, सभा वा जुलुस गर्न पाउने अधिकार प्रयोग गरी विरोध गर्दा पनि सरकारले संविधान र कानुन विपरित पूर्वाग्रही ढंगले आफूहरुलाई गिरफ्तार गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले एउटा जिम्मेवार राजनीतिक दलका नेताहरुलाई त सरकारले यस्तो व्यवहार गर्छ भने अरु नागरिकले संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्न सक्ने अवस्था नै नरहेको प्रतिक्रिया दिए । उनले नेपालमा राज्य नै संविधान र कानुन मिच्दै आफ्नो स्वेच्छाचारिता र निरंकुशता प्रदर्शन गरिरहेको बताए ।
गत शुक्रबार प्रहरीले पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल असारे काका पूर्वमन्त्री समेत रहेका पोलिटब्यूरो सदस्य पदम राई, अखिल नेपाल ट्रेड युनियन महासंघका नेता प्रेम दर्नाल, गणेश डुडके, ललित बिक, देव पौडेल, फुर्वा लामा, कृष्ण पुडासैनी, करणसिंह बडाल, विकास रोकाया, कुम्भ बुढा, बालकृष्ण भट्ट, राजु रसाइली, राजन कौशल, विवेक लामा र गणेश बिकलाई गिरफ्तार गरेको थियो ।
उनीहरु सबैलाई प्रहरीले सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दाको तयारी गरेको थियो । सुरुमा पाँच दिन म्याद थपेको प्रहरीले सो म्याद सकिन एक दिन अघि नै रिहा गरेको हो ।
गिरफ्तार गरिएका सबैसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच पाँच सय रुपैया लिएर रिहा गरेको हो । सबैलाई बैशाख ९ गतेको तारिख दिइएको जिप्रका स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]