शुल्क वृद्धि बिरुद्ध नेविसंघ
काठमाडौं। सत्तासिन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी तथा आवाशीय विद्यालयहरुले नयाँ शैक्षिक सत्रबाट गरेकाे शुल्क वृद्धिको विरोध गरेको छ । करिब ११ लाख विद्यार्थी अध्ययनरत निजी विद्यालयहरुले वृद्धि गरेको शुल्कले आम अभिभावक प्रत्यक्ष मारमा परेको भन्दै संघले वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको छ । संघले कुनै पनि शैक्षिक संस्थाहरुले शुल्क वृद्धि नगर्न र सबै विद्यालयमा वैज्ञानिक शुल्क निर्धारण गर्न, अपांग, असहाय, टुहुरा, गरिब, जनजाति, उत्पिडित र दुर्गम क्षेत्रका विद्यार्थीलाई निशुल्क शिक्षाको माग गरेको छ । शुल्क वृद्धि फिर्ता लिनुपर्ने लगायतका विभिन्न माग समेटिएको ४१ बुँदे ज्ञापनपत्र आफ्नो माउ पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको र आफ्ना माग पुरा नभए आन्दोलनमा उत्रने उसले चेतावनी दिएको छ ।