पुर्ब प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन
काठमाडौं, ३ बैशाख । पूर्व प्रधानमन्त्री एवम राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता सुर्यबहादुर थापाकाे भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको छ । ८८ बर्षीय थापाको स्वासप्रस्वासमा समस्या देखा परेपछि उनलाई चैत १६ गते भारतको नयाँ दिल्लीमा लगिएको थियो । मेदान्त अस्पतालमा थापाको शुक्रबार मात्र अल्सरको शल्यक्रिया गरिएको थियो । सोही क्रममा गएराती १०ः४० बजे उनको निधन भएको हो ।
धनकुटाको मुगा गाविसका थापा नेपालको राजनीतिक इतिहासमा निकै धेरै चर्चा र विवादमा रहेका पात्र हुन् । उनी पञ्चायत र बहुदलीय प्रजातन्त्रको पुनरस्थापनापछि गरी पाँच पटक प्रधानमन्त्री भएका थिए । पञ्चायतकालमा उनी निकै शक्तिशाली थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको लामो समय नेतृत्वमा रहेका थापा पार्टीमा विवाद बढ्दै गएपछि राष्ट्रिय जनशक्ति पार्टी खोलेर त्यसको नेतृत्व गरेका थिए । पछिल्लो समय उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थिए ।
नेपालको राजनीतिमा ६ दशकदेखि सक्रिय रहँदै आएका थापा भारतको उच्च राजनीतिक तहमा राम्रो सम्बन्ध भएका व्यक्तिका रुपमा चिनिन्थे । भारतले नेपालका राजनीतिक दलमा केही प्रस्तावमा छलफल गर्नुपर्यो भने उनलाई नै अगाडि सार्ने गरिएको थियो । उमेर बढ्दै गए पनि थापा जीवनको अन्तिम समयसम्म पनि सक्रिय राजनीतिमा थिए । २०३७ सालमा पञ्चायती व्यवस्थामाथि जनमत संग्रह भएका बेला पञ्चायतलाई जिताउन साम, दाम, दण्ड, भेद प्रयोग गरेको र २०४६ सालको जनआन्दोलन दबाउन पनि सक्रिय भूमिका खेलेको आरोप उनी माथि लाग्ने गरेको थियो ।
थापाको पार्थिव शरिरलाई आज अपरान्ह नेपाल ल्याउने तयारी गरिएको छ । थापाका छोरा सुनिल थापा नेपाल सरकारका वाणिज्य तथा आपूर्ती मन्त्री रहेका छन् । उनी अाफ्ना पितालार्इ लिन भारतमै गएका छन् ।