एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा संकटमा

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौँ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा संकटमा परेको छ । पछिल्लो समय मधेसवादी तथा जनजाती दलबीच बढेको बेमेल र असन्तुष्टीले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा संकटमा परेको हो । मोर्चाले आह्वान गरेको तीन दिने बन्द फिर्ता लिएपछि असन्तुष्ट बनेका केही मधेसवादी तथा जनजाती दल मोर्चामा रहने कि नरहने ? भन्ने अन्यौलमा छन् । एमाओवादीले परिस्थितिलाई बुझेर नरम बाटो अपनाउने सङ्केत पाएका मोर्चा आवद्ध दलहरू सशङ्कित बनेका छन् । त्यस अनुरुप उनीहरूले पछिल्लो चरण मोर्चा नेतृत्व बेगर विभिन्न छलफल गरिरहेका छन् । मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको अवस्थामा मोर्चा सक्रिय नदेखिएकाले मोर्चाभित्रका मधेसवादी र जनजाती पार्टीहरूबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको बताए । उनले मोर्चाबाट निर्णायक आन्दोलनमा जाने अवस्था नदेखिएकाले विकल्पको रुपमा छुुट्टै मोर्चा बनाएर जानेबारेसमेत कुराकानी भइरहेको बताए ।
यसैबीच, स्थापनाको २५ वर्षे दौरानमा विभिन्न फुट र जुटमा रुमल्लिएको सद्भावना पार्टी अन्ततः एकीकरण हुने भएको छ । विभिन्न कालखण्डमा टुक्रिएको सद्भावना पार्टीलाई एउटै परिवार बनाउन त्यसका नेतृत्वकर्ता पछिल्लो समय सक्रिय भएका छन् । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले पार्टी एकीकरणका लागि वार्ता र छलफल गर्न अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र विकास तिवारी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) लाई पत्र पठाएको छ । सद्भावना पार्टीलाई एउटै बनाएर शक्तिशाली सङ्गठन बनाउने उद्देश्यले पार्टीले एकीकरणका लागि पहल सुरु गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । ‘अलग पार्टी एकीकरण मात्र होइन, सद्भावना परिवारका छरिएर रहेका जुनसुकै सदस्यलाई पनि एकतामा ल्याउनका लागि प्रयास गर्ने पार्टीको योजना छ,’ उनले भने । दुई पार्टीसँग एकीकरण गरेपछि अन्य सम्भव हुने पार्टीसँग पनि एकीकरणका लागि पहल गरिने अध्यक्ष महतोले बताए ।
संविधानसभामा महतो अध्यक्ष रहेको सद्भावना पार्टीको छ सिट र झा अध्यक्ष रहेको सद्भावना पार्टीको एक सिट छ । सद्भावना पार्टीले केन्द्रीय समितिको निर्णयबाट सद्भावना पार्टीबाट अलग भएका विभिन्न दल तथा अन्य मधेसवादी दलसँग एकीकरणका लागि वार्ता गर्न सहअध्यक्ष लक्ष्मणलाल कर्णको अध्यक्षतामा एक कार्यदल गठन भएको थियो । यसअघि सद्भावना पार्टीबाट अलग भएको अनिल झा अध्यक्ष रहेको सङ्घीय सद्भावना पार्टीले सरिता गिरी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीसँग एकीकरण गरेको थियो । त्यस्तै, सरिता गिरी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबाट अलग भएर विकास तिवारीले नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) गठन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]