प्रधानमन्त्री कोइराला इन्डोनेसिया जाँदै

२०७२ बैशाख ७ गते, सोमबार

काठमाडौं,७ वैशाख । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकर्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को १० औं वार्षिकोत्सवमा भागलिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ जाँदै हुनुहुन्छ । नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ बार्षिकोत्सव वाङ्डुङ शहरमा वैशाख ११ गते आयोजना हुनेछ ।
नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै सक्रिय रूपमा भाग लिँदै आएको छ । यसै सम्मेलनले जन्मदिएको पञ्चशीलको सिद्धान्तले विश्वमा शीतयुद्धको अन्त्य गरिदिइ शान्ति, समृद्धि, सहअस्तित्व र असंलग्नतामा नयाँ उचाइ थप गरेका कारण वाङ्डुङ सम्मेलनलाई ऐतिहासिक सम्मेलनका रूपमा लिइन्छ । एसिया र अफ्रिका महादेशका बीचको आपसी सम्बन्ध थप विस्तार एवम् अभिवृद्धिका लागि सम्मेलनले सेतुका रूपमा काम गरेको थियो ।
सम्मेलनअन्तर्गत मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार र सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास बैरागी वैशाख ४ गते त्यसतर्फ गैसक्नुभएको छ । दुवै बैठकमा विकासोन्मुख देशले भोग्नुपरेका समस्या, प्राकृतिक विपद, आतङ्कवाद, जलवायु परिवर्तन, दिगो आर्थिक एवम् सामाजिक विकास, गरिबी निवारण, सहस्राब्दी विकास लक्ष्य, महिला सशक्तिकरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ ।
यसैबीच, प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौं –५, कालोपुल निवासी सुबीरनाथ खनाललाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन । प्रधानमन्त्री कार्यालयका अनुसार विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय खनाल विसं २०३२ सालको विद्यार्थी आन्दोलनको केन्द्रीय स्तरको नेतृत्वमा रहेका थिए ।२०३४ सालमा त्रिभुवन विश्वविद्यालयको सहायक प्राध्यापक रहनुभएका खनाल २०३६ सालको जनमत संग्रहमा प्युठान जिल्लामा खटिँदा बहुदलको प्रचार गरेको अभियोगमा निर्वाचन आयोगले फिर्ता बोलाएको थियो । उनि नेपाली कांग्रेसका तात्कालिन नेता गिरिजाप्रसाद कोइरालाको समिपमा रही तरुण पत्रिका लगायत नेपाली कांग्रेसका अन्य प्रचार सामग्री निर्माण र वितरणमा संलग्न रहनुभएको थियो । उहाँ २०४६ सालको जनआन्दोलनमा कर्मचारीको नेतृत्व गरी आन्दोलनमा सहभागी थिए ।
२०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव रहेका खनालले तात्कालिन अवस्थामा राजसंस्थामा रहेको शक्तिलाई जननिर्वाचित प्रधानमन्त्रीमा हस्तान्तरण गर्न सफल भूमिका निर्वाह गरेका थिए ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका खनाललाई पार्टीका तात्कालीन महामन्त्री सुशील कोइरालाले पार्टीको केन्द्रीय प्रशासन विभागको जिम्मेबारी पनि सुम्पेका थिए । खनालले एमएस्सी, एमपीए र प्राकृतिक प्रकोप व्यवस्थापन र नियन्त्रणमा अक्स्फोर्डबाट स्नातकोत्तर गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]