आज लोकतन्त्र दिवस

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं, ११ वैशाख । आज लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।२०६२/२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज ९ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनःस्र्थापनाको मागसहित सडकमा ओर्लेका सात राजनीतिक दल र जनयुद्धमा रहेको माओवादीबीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो ।जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्र्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन वैशाख ११ को ऐतिहासिक महत्व छ । २५ जना नेपालीले जनआन्लोलन सफल पार्नेक्रममा जीवन बलिदान गरेका थिए भने थुप्रै घाइते भए ।जनआन्दोलनको सफलताको जगमै विस्तृत शान्ति सम्झौता भइ शान्ति प्रक्रिया आरम्भ भएको थियो भने संविधानसभाको निर्वाचनसमेत भएको थियो ।तर, दुईपटक संविधानसभाको निर्वाचन सम्पन्न हुँदासमेत जनताले नयाँ संविधान पाउन सकेका छैनन् । नयाँ संविधान जारी नहुँदा जनआन्दोलनको उपलब्धि संस्थागत हुन सकेको छैन ।
देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि स्वरूप अघि बढे पनि अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको मुख्य चुनौती बनेको छ । लोकतन्त्र संस्थागत हुन नसकेकोमा आम नागरिक निराश बनेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]