अन्तराष्ट्रिय उद्धार टोलीलाई फर्कन आग्रह
काठमाडौं, १७ वैशाख। महाभूकम्पबाट भत्किएका घरमा फसेकाको उद्धारमा विभिन्न देशबाट आएका खोजी तथा उद्धार टोलीलाई आ–आफ्नो देश फर्कन सरकारले औपचारिक आग्रह गरेको छ ।नेपाल आएका उद्धार टोलीहरुले घरभित्र पुरिएका मृतकको उद्धार गर्ने कार्यादेश आफूहरुलाई नरहेको बताएपछि सरकारले यस्तो आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले हामीलाई जानकारी दिए ।ढकालका अनुसार जीवितको उद्धार सम्पन्न भएकाले मृतकको उद्धार गर्ने कार्यादेश नभएको टोलीलाई राख्नुको औचित्य नरहेकाले विदेशी उद्धार टोलीहरुलाई फिर्ता जान भनिएको हो ।
यद्यपि, विदेशबाट आएका इन्जिनियरिङ र स्वास्थ्य टोलीलाई भने फर्कन भनिएको छैन । नेपाली सेनाको सुझावका आधारमा सरकारले उद्धार टोली फिर्ता पठाउन लागेको हो ।शनिबार आएको महाभूकम्पपछि १५ देशका ३२ ओटा उद्धार टोलीमा एक हजार दुई सय जना विदेशी नेपाल आएका थिए ।