भारतीय सेनाद्वारा सरकारको निर्देशन अबज्ञा
काठमाडौं ,२२ वैशाख । भारतीय सेनाले नेपाल सरकारको निर्देशनको अबज्ञा गरेको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयमा कूटनीतिक नियोगका अधिकारीहरुलाई बोलाएर उद्दार टोलीहरुलाई स्वदेश फर्कन आग्रह गरे । तर, भारतीय सेनाको टोलीले भने परराष्ट्रमन्त्रीको आदेशलाई अटेर गर्दै त्रिभुवन विमानस्थल नछाड्ने संकेत दिएको छ ।
भारतीय सेनाका मेजर जनरल जे.एस. सन्धु यतिबेला त्रिभुवन विमानस्थलमा क्याम्प बनाएर बसेका छन् । परराष्ट्रमन्त्री पाण्डेले उद्दारको काम सकिएको र बाँकी काम नेपाली सेनाले गर्छ भनेकै दिन सोमबार मेजर जनरल सन्धु विमानस्थलबाटै नेपाली मिडियालाई अन्तरवार्ता दिँदै थिए । सन्धुले अब भारतीय हेलिकोप्टरहरु राहत वितरण कार्यमा खटिन थालेको बताएर मन्त्री पाण्डेको आदेशलाई चुनौती दिएका छन् ।
सन्धुले सार्वजनिक गरेको जानकारीअनुसार भारतले यतिबेला नेपालमा १३ वटा हेलिकोप्टर, २८ वटा मेडिकल टीम र १४१५ जना उद्धारकर्मी (सेना) खटाएको छ । ६ वटा हेलिकोप्टर काठमाडौंमा र ७ वटा पोखरा विमानस्थलमा रहेको उनले बताएका छन् ।
भारतीय सेनाको टोलीले नेपाली सेनाको अनुमतिमा काम गरिरहेको सन्धुको भनाइ छ । सरकारले जतिञ्जेल बस भन्छ, त्यतिबेलासम्म बस्छौं भने पनि परराष्ट्रमन्त्रीले निर्देशन दिइसक्दासमेत भारतीय सेनाका अधिकारीले विमानस्थल नछाड्ने स्पष्ट संकेत दिएका छन् ।यसका लागि भारतीय सेनाले नेपाली सेनाका अधिकारीसँग समन्यव गर्ने र राहत वितरणमा खटिने तर्क अघि सारेका छन् ।
यसैगरी, काभ्रेको विकट क्षेत्र डाँडापारीको वनखु गाविसमा बिग्रेको खाद्यपदार्थ राहतअन्तर्गत् पुगेको पाइएको छ ।भारतबाट आएको सामग्री सीधै हेलिकप्टरबाट डाँडापारी पठाउँदा काजु, छोकडालगायतका सामग्री बिग्रेको पाइएको हो ।त्यस्तै, नेपाली दूतावास-एफआइसीसीआई दिल्लीले राहतका लागि भनेर पठाएको सामानमा उत्पादन र सकिने मिति नै उल्लेख छैन ।सामानमा मिति नपाएपछि सामग्री पठाउँदा दुर्घटना हुनसक्ने भयले खाद्यसामग्री त्यत्तिकै गोदाममा राखिएको जिल्ला विकास अधिकारी चिरञ्जीवी तिमल्सिनाले जानकारी दिए ।१ सय ५३ कार्टुन खाद्यपदार्थ दैवी प्रकोप उद्धार समितिको गोदाममा रहेको छ ।
//////////////////