भारतीय सेनाले आहत दियो : प्रजिअ

२०७२ बैशाख २३ गते, बुधबार

काठमाडौ,२३ वैशाख । भूकम्‍पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन्।
वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा आइपुगेका प्रधानमन्त्रीसँग जिविसको सभाकक्षमा प्रजिअ अधिकारीले विपत्का बेला उद्धार गर्न आएको भारतीय हेलिकोप्टरले मनोमानी उडान गर्दा काम अव्यवस्थित भएको बताएका थिए।
प्रधानमन्त्रीलाई म के अनुरोध गर्न चाहन्छु भने भारतीय हेलिकोप्टरले हामीसँग कत्ति पनि समन्वय गरेन तिमल्सेनाले भने, यसले गर्दा हामीलाई काम गर्न समस्या भयो।
साँझ सर्वपक्षीय बैठक गरेर भोलिपल्टका लागि घाइते र राहत सामग्री ओसार्न बनाएको तालिकाविपरीत भारतीय हेलिकोप्टरले उडान गर्दा काम अस्तव्यस्त भएको उनले प्रधानमन्त्रीसँग गुनासो गरे।
साँझ हामी सबै बसेर एउटा तालिका बनाउँछौं, ऊ कहिले उडाउँदै उडाउँदैन, कहिले भारतीय पत्रकारहरूमात्र लिएर उड्छ प्रजिअ तिमल्सेनाले भने, कहिले गाउँमा पुयाउन पठाएको खाद्यान्न बालुवामा झारेर आउँछ।
कहिले जंगल र खोल्सामा खसालेर आउँछ। भारतीय हेलिकोप्टरको उडानबारे जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पत्तो नहुने र पोखरा कार्यालयबाट पनि स्पष्ट भनाइ नआउँदा भारतीय हेलिकोप्टर सहयोग हो कि असहयोग हो बुझ्न नसकेको उनले बताए।
भारतीय हेलिकोप्टरको मनोमानीकै कारण पालुङटार हवाईमैदानमा १७ ट्रक खाद्यान्न अलपत्र परेको प्रजिअ तिमल्सेनाले बताए। उनीहरूलाई जिम्मा लगाएको १७ टन खाद्यान्न पालुङटारमै अलपत्र छ, तिमल्सेनाले भने, हामी आजित भएका छौं । भारतबाट ल्याएको पानीभुजा पनि आवश्यक नपर्ने भएकाले फिर्ता पठाइदिन प्रजिअ तिमल्सेनाले प्रधानमन्त्रीसँग आग्रह गरे। भारतीय वायुसेनाको एमआई १७ हेलिकोप्टर सदरमुकाम, बारपाक र पालुङटारबाहेक अन्य स्थानमा अवतरण गर्न नसक्ने र सानो एमआई १६ ले पनि मनोमानी उडान गरेपछि जिल्लाका राजनीतिक दलहरू आजित भएका छन्। सत्तारूढ नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा माओवादीले पनि संयुक्त विज्ञप्ति जारी गरी भारतीय हेलिकोप्टरको स्वेच्छाचारी गतिविधिको विरोध गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]