घर भाडा बढाए कारवाही : प्रजिअ

२०७२ बैशाख २४ गते, बिहीबार

काठमाडौँ,२४ वैशाख । काठमाडौंमा भूकम्पले नचर्किएका घरका धनीले कोठा भाडा बढाएको गुनासो आउन थालेपछि त्यसको अनुगमन हुने भएको छ ।विपतको यो बेला साहरा र सहयोग गर्नु पर्नेमा उल्टै भाडा बढाएमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए ।
उनले भाडा बढाए वा यतिबेला घरबाट भाडामा बस्नेलाई हटाउन खोजे केहि समयका लागि उसको व्यक्तिगत सम्पत्ति सरकारले नियन्त्रणमा लिने चेतावनीसमेत दिए । ‘आफू चाहिँ घरकोसमेत कर नबुझाउने, अनि विपत परेका बेला भाडा बढाउन खोज्ने ?’ अर्यालले भने ‘कसैले भाडा बढाउँछ भने उसलाई कारवाही गरिन्छ ।’ उनका अनुसार काठमाडौँका धेरैजसो घरधनीले कर नतिरेको हुनाले कर तिरे÷नतिरेको बारेमा पनि अनुसन्धान गरी उनीहरुलाई कानुनी दायरमा ल्याइने छ ।
कुनै घरधनीले पहिला दिने भन्दा बढी भाडा लिएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा वडा कार्यालयमा सूचना दिन पनि प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आग्रह गरे ।
काठमाडौंका केहि घर भत्किएका र केहि चर्किएका कारण बस्न नमिल्ने भएपछि सग्ला घर धनीले भाडा बढाउन थालेका हुन् । भूकम्पपछि काठमाडौं उपत्यकाका ३४ हजार ४१ वटा घर भत्किएका छन् भने ३६ हजार ५ सय ४५ जना विस्थापित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]