मंगलबारको भुकम्पवाट ६५ जनाको मृत्यु, झण्डै दुई हजार घाईते
काठमाडौं,३० बैशाख । महाभूकम्पको अठारौ दिनपछि हिजो दिउँसो पुनः ठूलो भूकम्प जाँदा देशका विभिन्न स्थानमा कम्तिमा ६५ जनाको मृत्यु र १९ सय २८ जना घाईते भएका छन् ।हिजो दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी दोलखामा सवैभन्दा बढी ३६ को मृत्यु भएको छ ।यस्तै सिन्धुपाल्चोकमा ११, काठमाडौंमा ४, सिन्धुलीमा २, रामेछापमा २, गोर्खामा १, सुनसरीमा १, सर्लाहीमा १, धनुषामा १ र रौतहटमा १ जनाको मृत्यु भएको खबर छ ।
काठमाडौंको मातातीर्थ, टेकु, सामाखुशी र बालाजुमा एक एक जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र विन्दू दोलखा र सिन्धुपाल्चोकको सीमानामा रहेको जनाइएको छ ।
भूकम्पबाट दोलखामा सवैभन्दा बढी क्षति पुगेको र त्यहाँ ९० प्रतिशत घरहरु भत्किएको जनाइएको छ भने घाइते मध्ये ११ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
काठमाडौंमा ३५० भन्दा बढी घाइते भएका छन् भने भक्तपुरमा करीब २ सय र ललितपुरमा पनि उत्तिकै संख्यामा घाइते भएका छन् । यस्तै सिन्धुपाल्चोकमा एक सय बढी घाइते भएको विवरण प्राप्त भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले हिजो दिउँसोको भूकम्प ६ दशमलव ८ रेक्टर स्केल भएको र यो पनि पराकम्पन नै भएको बताएको छ ।अमेरिकी भूगर्भ सर्वेले भने ७ दशमलव ३ रेक्टर स्केलको भएको र गत बैशाख १२ गतेको महाभूकम्पकै ठूलो पराकम्पन भएको बताएको छ ।भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्म महसुश गरिएको जनाइएको छ । भूकम्पबाट विहारमा पनि जनधनको क्षति भएको छ । पहिलो झड्कापछि ५ दशमलव ६, ५ दशमलव ५ र ६ दशमलव २ रेक्टर स्केलका पराकम्पन गएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै राति पनि तीन पटक भुकम्पको धक्का महसुस भएको थियो ।