बेपत्ता अमेरिकी हेलिकोप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटियो
काठमाडौं, १ जेठ। गएको मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोककेा सीमाना घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको बताइएको छ । कालिन्चोकका एक स्थानीयले दिएको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको बताइएको छ ।कालिन्चोकको उत्तरपश्चिम घोर्थलीको सिन्दूरे डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाको चौतारास्थित गोरखनाथ गणका गणपति सुरेशकुमार कार्कीले जानकारी दिएका छन ।
यो ठाउँ सिन्धुपाल्चोक र दोलखाको सीमानामा पर्छ । घोर्थली बाह्रबिसेबाट माथि सिन्धुपाल्चोक जिल्लामा पर्छ भने दोलखाको बिगु गाविस जोडिएको छ ।
स्थानीय बासिन्दाको सूचनाका आधारमा कालिन्चोकतर्फ गएको सैनिक एयरक्राफ्टले कालिन्चोक नजिक घोर्थली क्षेत्रमा देखेपछि सोही ठाउँलाई केन्द्रित गरेर उद्दार टोली पठाइएको सैनिक स्रोतले बताएको छ ।
कालिन्चोकका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्न सेनाको टोली विहान त्यसतर्फ गएको थियो ।११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ ।