चीनका परराष्ट्र सहायक मन्त्री लिउ नेपाल आउँदै

२०७२ जेष्ठ ७ गते, बिहीबार

काठमाडौं ,७ जेठ । चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भ्रमणका लागि काठमाडौं आउदै छन् ।
भूकम्पपछिको नेपालको अवस्था तथा पुनर्निर्माण एवम् राहतको अवस्थाबारे बुझ्न सहायक मन्त्री लिउ जेनचाओ नेपाल आउँ लागेका हुन् ।प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहने नेपालस्थित चिनिया दूतावासले जनाएको छ ।सहायक मन्त्री लिउले प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।चिनियाँ दुतावासका अनुसार वैशाख २९ गतेको भूकम्पपछि पनि चीनले घोषणा गरेको १४ करोड युआन बराबरको राहत सामग्री काठमाडौं ल्याउनेक्रम सुरु भएको छ । बुधबार विशेष विमानबाट ती सामग्री राजधानी ल्याइएको छ । त्यसैगरी चिनियाँ जनमुक्ति सेनाले प्रभावकारी एवम् सहज रुपमा उपचार सेवा उपलब्ध गराउन नेपाली सेनालाई २४ वटा घुम्ती अस्पताल उपकरणसहित प्रदान गरेको छ । ती उपकरण सञ्चालनमा नेपाली सेनालाई पोख्त बनाउन १७ सदस्यीय चिनियाँ टोलीले पाँचदिनसम्म प्रशिक्षण दिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]