कालीगण्डकी खुलाउन सुरक्षाकर्मी परिचालन ,सात जिल्लामा उच्च सतर्कता
काठडमाडौं ,१० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी सकेसम्म आजै खोलिने बताएका छन् । प्रधानमन्त्री कोइरालाले सकेसम्म आजै नदी खोलेर जनजीवन सामान्य पार्ने प्रयास गरिने समेत बताए ।जोखिम क्षेत्रमा रहेका जनतालाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेको भन्दै प्रधानमन्त्रीले जनतालाई धैर्यधारण गर्न आग्रहसमेत गरे ।‘भूकम्पपछि हावाहुरीले पनि क्षति गरेको छ, प्रधानमन्त्रीले भने, सकेसम्म आजै कालीगण्डकी नदी खोल्ने प्रयास गरिने छ, यस्तो बेलामा सबै जनताले धैर्य गरौं ।’
यसैबीच, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, गुल्मी, पाल्पा र नवलपरासीको गण्डकी नदी आसपासका बस्ती सार्न र उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले आग्रह गरेको छसुख्खा पहिरोले काली गण्डकी थुनिएपछि म्याग्दीसहितका सात जिल्लामा उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले स्थानीय प्रशासनमार्फत् निर्देशन दिएको छ ।
म्याग्दीको राम्चे गाविस-९ बैसरीमा आइतवार विहान माथिबाट खसेको सुख्खा पहिरोले नदी थुनिएपछि नदी आसपासका सात जिल्लालाई उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले निर्देशन दिएको हो ।
म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, गुल्मी, पाल्पा र नवलपरासीको गण्डकी नदी आसपासका बस्ती सार्न र उच्च सतर्कता अपनाउन गृहमन्त्रालयले आग्रह गरेको छ ।
यसैगरी गृहको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले सार्वजनिक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन नदी किनाराका नागरिकहरुलाई अपिल गरिएको छ ।
म्याग्दीको राम्चे गाविसको काफलडाँडामा पहिरो जाँदा कालीगण्डकी नदी थुनिन गई जलाशय बन्न गएकाले जलाशय जुनसुकै समयमा पनि फुट्न गई नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट कालीगण्डकी र नारायणी आसपासका वस्तीहरुमा जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई नदी किनारमा नजान, व्यवसायजन्य अन्य क्रियाकलापहरु नगर्न र नदी किनारका वस्तीहरुका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयद्वारा सम्बद्ध निकायहरुसँग समन्वय गरी जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाई सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखिएको पनि प्रशासनले जनाएको छ ।