उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको बैठक बस्दै

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौ, १२ जेठ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा भूकम्प प्रभावित क्षेत्रका लागि बनाइने तत्कालिन र दीर्घकालिन योजनाको बारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।बैठकमा विपद् व्यवस्थापन राष्ट्रिय रणनीति २०६६ ले प्रस्ताव गरेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण गठनको बारेमा पनि छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले बताए । प्रस्तावित परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गर्ने भनिएको छ भने प्राधिकरणको स्वरुप र कानुनबारे रणनीतिमा उल्लेख गरिएको छैन् । गएको बिहीबार मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पूनर्निर्माणमा सल्लाह लिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, मन्त्रीहरु, नेपाल सरकारका मुख्य सचिव तथा सम्बन्धित मन्त्रलायका सचिव, र राष्ट्रिय योजना आयोगका बहालवाला पदाधिकारीहरु सदस्य परामर्श समितिमा रहने ब्यवस्था छ /
यसैगरी, राष्ट्रिय विपद् व्यवस्थापन तथा निर्देशन विशेष समितिको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।सिंहदरवारमा दिउँसो १ बजे बस्ने बैठकमा समितिले सरकारलाई दिएका निर्देशन, भए गरेका काम कारबाही लगायतको बारेमा छलफल हुनेछ ।
प्रधानमन्त्री सुशील कोइरला,उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र कानूनमन्त्री नरहरि आचार्य पदेन सदस्य रहेको समितिको बैठकमा अर्थमन्त्री रामशरण महतको पनि उपस्थिति रहने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । आजको बैठकमा पूर्णबहादुर खड्का नेतृत्वको ५ सदस्यीय उपसमितिले बिभिन्न १४ ओटा प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]