दरबार हत्याकाण्डको १४ वर्ष पूरा
काठमाडौं, १९ जेठ । आज जेठ १९ तत्कालिन नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुगेको छ । विक्रम संवत २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृति सहित १० जनाको निधन भएको थियो ।
घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबीनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई धेरैले पत्याएका छैनन् । नेपाली नागरिकले कहिल्यै नबिर्सने त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नया मोड लिएको थियो ।
राजा वीरेन्द्रपछि उहाँका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।