१६ बुँदे सहमतिको आधारमा बन्ने संविधान मान्दैनौ : गजुरेल
काठमाडौं, ८ असार । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले रातारात गरिएको १६ बुँदे सहमतिका आधारमा जारी हुन लागेको संविधान कुनै हालतमा स्विकार नहुने बताएका छन् । सर्बोच्च अदालतको आदेशको समेत अपमान गर्दै प्रमुख ४ दलले जबरजस्ति संविधान लाद्न खोजेको भन्दै उनले १६ बुँदे सहमतिको नाममा अर्को द्वन्द्व ल्याउन खोजिएको आरोप लगाए । सुनसरीको इटहरीस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले भने, ‘रातारातको १६ बुँदे सहमतिको आधारमा बन्न लागेको संविधान देश र जनताका लागि ग्रहण लागेको संविधान जस्तै हो । यो कदापि स्वीकार्य हुँदैन ।’
देशमा बिध्वंसकारी भूकम्प गएको मौका छोपी पीडामा परेका नेपालीहरुलाई अर्को पीडा दिने संविधान जारी भए मुलुक भिडन्तको खाडलमा जाकीने उनले चेतावनी दिए । अहिले बन्न लागेको संविधान जनताको हित बिपरीत हुने उनको भनाइ थियो ।