संविधान निर्माणमा मधेशी दलको मौन समर्थन
काठमाडौं, १४ असार । चार दलको बीचमा भएको १६ बुँदे सहमतिमा असन्तुष्ट संविधानसभामा रहेका मधेशी दलहरुले प्रस्तावित संविधानका धाराहरूमा असहमति राखेर प्रक्रियामा सहभागी हुने संकेत गरेका छन् । १६ बुँदेको विरोधमा तत्काल तीव्र प्रतिक्रिया दिएका उनीहरू त्यसयता समितिका बैठकहरुमा सहभागि भइरहेका छन् । मस्यौदा समितिकै बैठकमा पनि आफ्ना कुरा नपरेकामा विमती राख्दै प्रक्रियालाई अवरोध गरेका छैनन् । सुरुमा आवश्यक परे संविधानसभा नै त्याग्ने बताएका उनीहरुले त्यसपछि लगातार बसेका संविधानसभा समितिहरूमा असहमति राख्दै सहभागिता जनाइरहेका हुन् ।
सोमबार बस्ने संविधानसभामा पनि यसै भूमिका अपनाउने केही नेताहरुले बताएका छन् ।
मस्यौदा समितिको बैठकमा प्रदेश सभाको अधिकार केन्द्रबाट नियन्त्रित हुन नहुने, अन्तर्राष्ट्रियसम्बन्ध निर्माणमा प्रदेशसभाले पनि भूमिका पाउनुपर्नेलगायत फरक मत उनीहरुले पेश गरेका छन् । स्वयं समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले तत्कालै सभा बहिष्कार गर्नेबारे छलफल नभएको प्रष्ट गरेका छन् ।
प्रक्रियामै सहभागि बन्न नदिइए मात्रै बाहिरिने हो, नत्र प्रक्रियाभित्रै रहेर विरोध गर्ने उनको भनाइले पनि संविधान निर्माणमा सबै दलको अपनत्व कायम हुनसक्ने देखिएको छ । १६ बुँदेमा असन्तुष्ट मधेशी दलमध्ये समाजवादी फोरमसँग १५, तमलोपासँग ११, सद्भावनासँग ६, तराई मधेस सद्भावना पार्टीसँग ३ सिट गरी ३५ सिट रहेको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक १६ बुँदे मध्येको एक पार्टी हो भने राष्ट्रिय मधेश समाजवादी पार्टी तथा फोरम गणतान्त्रिकले १६ बुँदे सहमतिमा फरक मत राख्दै समर्थन गरेका छन् । उनीहरूसँग १८ सिट छ ।