असारभित्रै संविधान ल्याउन गृहकार्य
काठमाडौ, १६ असार । दलहरुबीच असारभित्रै संविधान जारी गर्ने गृहकार्य सुरु भएको छ । संविधानको मस्यौदा संविधानसभामा पेश भएपछि अब त्यसको प्रक्रियामा प्रवेश गर्ने भएका हुन् । कार्यतालिका बनाउने विषयमा दलहरुबीच आज अनौपचारिक छलफल हुनेछ । असार मसान्तभित्र संविधान ल्याउने गरी सबैभन्दा छोटो बाटो खोज्ने वा लम्ब्याउने भन्नेमा दलहरुबीच केही मतभेद छ ।
दलहरुबीच सहमति भएपनि कार्य व्यवस्था परामर्श समितिको भोलिको बैठकमा कार्यतालिका तयार हुने संसद सचिवालयले जनाएको छ । दलहरुबीच भएको सहमति जनताको सुझावपछि केही परिमार्जन हुन सक्छ ।
नयाँ संविधान खुला बहुलवादी चरित्रको सुधारिएको संसदीय व्यवस्था लोककल्याणकारी चरित्रको हुने प्रस्तावित मस्यौदामा उल्लेख छ। राज्यका महत्वपूर्ण निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी मिश्रित निर्वाचन प्रणालीले निरन्तरता पाउने छ भने उत्तरदायित्व सहितको स्वतन्त्र न्यायपालिका रहने छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले संविधानले तोकेको क्षेत्राधिकारभित्र रहेर आ–आफ्नो क्षेत्रको शासन व्यवस्था सञ्चालन गर्नेछन् । अघिल्ला संविधानहरूले राज्यको नीति निर्देशक सिद्धान्तका रूपमा राखेका धेरै विषयलाई यसले मौलिक हकका रूपमा सुनिश्चित गरेकोछ ।
सम्मानपूर्वक बाँच्न पाउने हकदेखि उपभोक्ता हकसम्म ३१ वटा धारामा मौलिक हक र एउटा धारामा नागरिक कर्तव्य उल्लेख छ । नागरिकताको प्रावधानमा पुरानै व्यवस्थाअनुसार आमा र बाबुका नामबाट वंशजको नागरिकता पाउनेछन् । प्रस्तावित संविधान नेपालको सन्दर्भमा अहिलेसम्मकै ठूलो हो । प्रारम्भिक मस्यौदामा ३७ भाग र २९६ धारा छन् ।