‘ असन्तुष्ट पक्षसँग वार्ता गर ‘

२०७२ श्रावण ५ गते, मंगलवार

काठमाडौं, ५ साउन । नागरिक समाजका अगुवाहरुले संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा वल प्रयोग भएको भन्दै त्यस्तो कार्यको निन्दा गरेका छन् । दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर लगायतका अगुवाहरुले असन्तुष्ट पक्षसँग तुरुन्त वार्ता थाल्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् ।
पूर्व सभासद ढुंगाना, तुलाधर, चरण प्रसार्इ, सुरेन्द्र महतो लगायतले विज्ञप्ति जारी गरी संविधानको मस्यौदामाथि जनताको सुझाव संकलन गर्ने क्रममा तराई मधेसलगायतका क्षेत्रमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘संविधान निर्माण प्रक्रियामा सबैको निर्वाध सहभागीता सुनिश्चित गर्नु राज्यको कर्तव्य हो । संविधान निर्माण प्रक्रियाले सबैका आकांक्षा एवम् चाहनालाई अभिव्यक्त गर्न सक्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ-‘तर, संविधानको मस्यौदामाथि सुझाव संकलन गर्ने दौरानमा भएको वल प्रयोग निन्दनीय छ ।’
साथै नागरिक समाजका अगुवाहरुले असन्तुष्ट एवम् सबै पक्षहरुसँग सघन वार्ता र संवाद गरी संविधान निर्माणको विश्वसनीय वातावरण तयार गर्न दलहरुलाई आग्रह गरेका छन् ।
ज्ञप्तिमा भनिएको छ- ‘हामी सरकारलाई बल प्रयोग नगर्न तथा असन्तुष्ट पक्षहरुलाई पनि शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्न समेत आग्रह गर्दछौं ।’
उनीहरुले हिंसा र बल प्रयोगले मुठभेडको राजनीति जन्माउने र मुलुक अर्को द्वन्द्वमा धकेल्ने खतरातर्फ सचेत गराएका छन् ।
‘एकतर्फी बल प्रयोगद्वारा मात्र संविधान निर्माण प्रक्रियालाई अगाडी बढाइएमा यो प्रत्युत्पादक हुनसक्ने स्पष्ट छ’ विज्ञप्तिमा भनिएको छ-हामी सरकार तथा प्रमुख राजनीतिक दलहरुलाई वार्ताको प्रक्रिया थाल्न, संविधान निर्माण प्रक्रियामा सबैको सहभागीता एवम् स्वामित्व सुनिश्चितगर्न आग्रह गर्दछौं ।’
नागरिक समाजका अगुवारुले प्रदेशहरुको सिमांकनसहितको संविधान जारी नगर्नु न्यायोचित नहुने भन्दै वार्ता र सम्वादमा जोड दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]