आजपनि जनकपुरमा बन्द

२०७२ श्रावण ६ गते, बुधबार

काठमाडौं, ६ साउन । संविधानको मस्यौदामा मधेशीलाई विभेद गरेको भन्दै केही मधेशी दलले बुधबार तेस्रो दिन पनि जनकपुर बन्द आह्वान गरेका छन् ।
बन्दमा मधेसी अधिकार संघर्ष समितिको पनि समर्थन छ । बन्दकै कारण लामो तथा छोटो दूरीको यातायात चलेको छैन भने बजार ठप्प छन् ।
प्रदर्शनकारीले चोक चोकमा प्रदर्शन गरेका छन् । दुई दिनको बन्दमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही घाइते भएका छन् ।उता, महोत्तरीमा भने असार २५ गते जिल्ला मालपोत कार्यालयबाट चोरिएका कागजपत्रसम्बन्धमा स्थानीय प्रशासनले छानबिन नगरेको भन्दै जलेश्वर उद्योग वाणिज्य संघले सदरमुकाम बन्द आह्वान गरेको छ । बन्दले बजार ठप्प रहेपनि यातायातका साधन भने चलेका छन् ।
मकवानपुरमा भने राप्रपा नेपालले बन्द आह्वान गरेको छ । मंगलबार संविधानको मस्यौदामाथि सुझाव संकलनको विरोध गर्ने क्रममा अध्यक्ष कमल थापा र सभासद गणेश थापा घाइते भएको भन्दै बन्द आह्वान गरिएको हो ।उक्त पार्टीले पूर्वका ९ जिल्लामा पनि बन्द आह्वान गरेको छ । पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथमु, संखुवासभालगायतका जिल्लामा बन्दको सामान्य प्रभाव परेको छ ।
यसैगरी, हिन्दुराज्यको माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका राप्रपा नेपालले आज पनि देशभर प्रदर्शन गर्दैछ । झापा, मोरङ, सुनसरी, रौतहट, बारा, पर्सा, मकवानपुर, बाँके, कैलाली तथा कञ्चनपुर लगायतका जिल्लाहरुमा प्रदर्शन भइरहेको जनाइएको छ ।
संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव संकलनमा अवरोध पुर्याउने क्रममा हिजो हेटौंडामा पार्टी अध्यक्ष कमल थापा माथि भएको आक्रमणको विरोध तथा हिन्दुराज्यको माग गर्दै आज पनि देशभर प्रदर्शन कायम राखेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै राजधानीको रत्नपार्क, चावहिल, कलंकी लगायतका स्थानमा पनि प्रदर्शन गर्ने राप्रपाको तयारी छ । पार्टीको घोषणापत्रमा नेपाल बन्दको कार्यक्रम नगर्ने उल्लेख भएकोले बन्द हडताल जस्ता कार्यक्रमहरु भने तय नभएको राप्रपाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]