वन्द सफल पार्न प्राध्यापक संगठनको अपिल
काठ्माडौं, ७ साउन । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले भोलिको नेपाल बन्द सफल पर्न सबैलाई अपिल गरेको छ ।संगठनका अध्यक्ष मोहन खतिवडाले एक प्रेस विज्ञाप्ति जारी गरी उक्त अपिल गरेका हुन् । अध्यक्ष खतिवडाले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “अहिले जसरी नेपालको राजनैतिक घटनाक्रमहरु विकसित भइरहेका छन् तिनले आशंका, अन्यौल र अनिश्चितता तर्फ मुलुक अगाडी वढेको देखिन्छ । गत बैशाख १२ को विनाशकारी भुकम्प र त्यसपछिका पराकम्पनका कारण नेपाल र नेपालीहरुले महाविपत्तिको त्रासदी भोगिरहेकै समयमा नेपालको पश्चिमी सिमा दार्चुलाको लिम्पियाधुरा देखि ५३ किलोमिटर पुर्वको लिपुलेक भञ्ज्याङ्ग मार्फत हुने गरी चीन र भारतवीच सम्पन्न जेठ १ गतेको ब्यापार संझौताले सार्वभौम नेपालको भुमीमाथि अनधिकृत हस्तक्षेप मात्र नभई दुई शक्तिशाली मुलुकको हेपाहा प्रवृत्तिलाई पनि उजागर गरेकोछ । भुकम्प पछिको पुनर्निर्माणमा सर्वाधिक आर्थिक सहयोगको तत्परता देखाएर नेपाली भुमी लिपुलेकको विषयलाई सौदावाजी गर्ने चालबाजी नै हो भने पनि स्वाभिमानी देशभक्त नेपालीलाई यो सह्य हुनेछैन । हाम्रा पुर्खाहरुले बलिदान गरेर प्राप्त गरेको भुमी हाम्रो हो । यस कारण पनि हामी उक्त विवादास्पद संझौताको खारेजीका लागि आह्वान गर्दछौं ।
यसै गरी संसदबादी र नवसंसदबादी शक्तिहरुले भुकम्पीय अति प्रभावित मानवीय संवेदनालाई वाहाना वनाउँदै गत जेठ २५ गते मध्यरातमा भएको १६ बुँदे सहमतिबाट नेपाली जनताको सपना माथि अर्को धावा वोलेकाछन् । १० वर्षे महान जनयुद्ध र १९ दिने शान्तिपूर्ण ऐतिहासिक जनआन्दोलनले दिएको जनादेशलाई समेत लत्याउँदै नयाँ कलेवरमा प्रतिगामी संसदीय संविधान थुपार्ने कोशिस गरिदैछ । नेपाली जनतालाई दुई दिनको समयसीमा तोकेर संविधानमा सुझावका लागि गरिएको कथित आग्रह र सँगै विदेशी प्रभुको पाउमा लम्पसार परेका संसदबादीहरुको हालको गतिविधि नियाल्दा यो केबल रंग र कलाहिन नाटकको मञ्चन मात्र हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । तसर्थ १६ बुँदे सहमतिबाट संसदबादको एकाधिकार कायम गर्ने र विगतका संझौताहरु लत्याई एक थान संविधान थोपर्ने दुस्साहशको हाम्रो संगठन निन्दा र भत्र्सना गर्दछ ।
जनता मँहगी र असुरक्षाको मारमा छन्, देशका खोलानाला कमिशनमा वेच्ने काम भइरहेकोछ, भुकम्प पिडितको लागि भनिएको चामल, दाल, जस्तापाता, पाल आदिमा भ्रष्टाचार भएकोछ । नेपालको दक्षिणी सिमामा भारतले निर्माण गरेको बाँध र तटवन्धका कारण डुवान पर्दै आएका नेपाली वस्तीहरु पुर्व देखि पश्चिम सम्म दशगजा नजिकै समानान्तर भारतीय सडक निर्माणको उद्देश्यले ३ मिटर अग्लो ७ मिटर चौडा सडक निर्माणले नदीको प्राकृतिक वहाव तथा बाढीको पानी रोकिन गई बाँके हिरीमिनिया, साइगाउँ लगायतका सैयौं नेपाली घरहरु डुवानमा छन् र डुब्ने खतरा अरु वढेको छ । पुर्वाधार निर्माणका लागि द्वीदेशीय सीमाका सम्वन्धमा पालना गर्नु पर्ने अन्तराष्ट्रिय महासन्धीहरुको समेत धज्जी उडाउँदै भारतको एकतर्फी निर्माण कार्यले नेपाल जस्तो सानामुलुकका सुरक्षा चिन्तालाई अझ वढाएकोछ । यी सवै हर्कतहरुका विरुद्ध राष्ट्रियता र जनजिविकाका पक्षमा हाम्रो संगठन ‘नेपाल राष्ट्रिय प्राध्यापक संगठन’ पनि नेकपा माओवादीले आह्वान गरेको ‘ लिपुलेक संझौताको खारेजी, प्रतिक्रान्तिको प्रतिवाद र राहत भ्रष्टाचारको भण्डाफोर गरौं ’ भन्ने उदघोषका साथ साउन ८ गतेको नेपाल वन्दको कार्यक्रमलाई सहयोग, समर्थन र सफल बनाउन सम्पुर्ण देशभक्त, प्रगतिशिल तथा बामपन्थि प्राध्यापकहरु तथा जनसमुदायलाई हार्दिक अपिल गर्दछ ।”