‘द्वन्द्ध ल्याउने संविधान जारी नगरौं’
काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका अधिकाशं नेताहरुले सिमाङ्कन र नामाङ्कनसहितको संविधान जारी गर्नु पर्नेमा जोड दिएका छन् ।
संविधान निर्माणमा पार्टीको साझा धारणा बनाउन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति र संसदीयदलको संयुक्त बैंठकमा नेताहरुले चाडो संविधान ल्याउने नाउँमा द्धन्द्ध ल्याउने संविधान जारी नगर्न शिर्ष नेताको ध्यानाकर्षण गराएका थिए ।
नेताहरुले दलहरुबीच विवादित नागरिकता, शासकीय स्वरुप र धर्मकाबारेमा आ–आफ्नो धारणा राखेका थिए । शनिबार बोल्ने अधिकाशं सदस्यहरु र सभासद्हरुले धार्मिक स्वतन्त्रतामा जोड दिएका थिए भने संविधानका सबै बिषय टुंग्याएर मात्र संविधान जारी गर्नु पर्ने सुझाव दिएका थिए । बैंठकमा प्रधानमन्त्री एंव पार्टी सभापति सुशील कोइराला, महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता बिमलेन्द्र निधी, डाक्टर रामशरण महतलगायतले संविधान निमार्णमा भएको प्रगतिका बारेमा आफ्नो धारणा राखेपछि अन्य नेताहरुले बोलेका थिए । उनीहरुले कांग्रेसले संविधान निर्माणमा आफ्नो प्रष्ट धारणा बनाउन नसकेको, सरकारले जनताको काम गर्न नसकेको भन्दै शिर्ष नेताहरुको आलोचनासमेत गरेका थिए ।