सरकारद्वारा सेना परिचालन

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौं, ७ भदौ । सरकारले प्रदर्शन भइरहेका क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने भएको छ । सरकारले सुरक्षा स्थिति विग्रदै गएको निश्कर्ष निकाल्दै कैलालीलगायतका केही जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको हो । कैलालीमा भएको हिंसात्मक घटनापछि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको सोमबार अपरान्ह बसेको बैठकले सेना परिचालनको निर्णय गरेको हो ।
सेना परिचालनको निर्णय भएको जानकारी सोमबारको संसद्को बैठकमा गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतमले दिएका छन् । गौतमका अनुसार कैलाली, बर्दिया, सर्लाही, रौतहटलाई दंगग्रस्त क्षेत्र घोषणा गरेर सेना परिचालन गर्न लागिएको हो । त्यहाँको सुरक्षा कमान्ड समाल्न सेनाको टोली सम्बन्धित जिल्लामा प्रवेश गरिसकेको जानकारी गौतमले दिए । प्रमुख जिल्ला अधिकारीको आदेशमा सम्बन्धित जिल्लामा सेना परिचालन हुने छ।
आवश्यकता हेरेर अन्य जिल्लामा पनि सेना परिचालन हुनसक्ने जानकारी गौतमले दिएका छन् । उनले अवस्था सामान्य नरहेकोले सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको बताए। कैलीलीमा प्रदर्शनकारीहरुले बञ्चरो, भाला र घरेलु हतियार प्रयोग गरेर प्रहरीको क्रुर हत्या गरेको बताए।
गौतमले सद्‍भाव र शान्तिका लागि संसद्ले अपिल गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]