टीकापुर घटना निन्दनीय : प्रधानमन्त्री

२०७२ भाद्र १३ गते, आईतवार

काठमाडौं,१३ भदौ। प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटनामा गोली लागेर मृत्यु भएका १८ महिने बालक टेकबहादुर साउदका परिवारसँग
कुरा गर्दै टीकापुर घटना निन्दनीय भएको भन्दै दोषीलाई उम्कन नदिने बताएका छन । आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताए । बालकका हजुरबुवा जंगबहादुर साउदको नेतृत्वमा गएको परिवारका सदस्यले मृतक बालकलाई शहीद घोषणा गर्नुपर्ने, परिवार र जनधनको सुरक्षाको माग माग गरेका छन् ।
उनीहरुले आइतबार नै कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डाक्टर रामशरण महतलगायतका नेताहरुसँग भेट गरी शान्तिसुरक्षाको व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।
घटनापछि अचेत बनेका मृतक बालकका बुवा प्रहरी हवल्दार नेत्रबहादुर साउद अझै उपचारकै क्रममा धनगढीमै छन् । उनीहरुले घटनापछि आफूहरु घरमा बस्न सक्ने अवस्था नभएको भन्दै अहिले घर छाडेका छन् । टीकापुर घटनामा एसएसपीसहित सात प्रहरी र एक बालकको घटनास्थलमा मृत्यु भएको थियो भने एक प्रहरीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]