राष्ट्रसंघमा बुझाउन हस्ताक्षर संकलन गर्दै
काठमाडौँ, २० असोज । संघीय मधेसी मोर्चा र नेपाल सदभावना पार्टीले संयुक्त राष्ट्रसंघमा बुझाउनका लागि तराई–मधेसमा हस्ताक्षर संकलन गरिरहेको छ ।
मधेस आन्दोलनलाई सरकार र प्रमुख राजनीतिक दलले उपेक्षा गर्दै आएको भन्दै मोर्चाले हस्ताक्षर संकलन गरेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्ने जनाएको छ । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाका अनुसार प्रमुख दलहरु कांग्रेस, एमाले र एमाओवादीले नयाँ संविधानमा मधेसी जनताको सहमति रहेको दाबी गर्दै नयाँ संविधानको विरोधमा मधेसको सानो समूह रहेको बताउँदै आएका कारण हस्ताक्षरमार्फत जनमत सार्वजनिक गर्न थालिएको हो ।
उनले साताव्यापी रुपमा हस्ताक्षर संकलन भइरहेको भन्दै तराई–मधेसबाट ४० लाख जनताको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको बताए । संकलित हस्ताक्षर संयुक्त राष्ट्रसंघ समक्ष बुझाइने उनको भनाई छ ।