सरकार गठनका निम्ति बहुमतिय प्रक्रिया सुरु हुँदै
काठमाण्डौ,२२ असोज । नया सरकार गठनका लागि आजबाट बहुमतिय प्रक्रिया सुरु हुदैछ । राष्ट्रपतिले सहमतीय सरकार गठनको लागि दिएको समयसीमा सकिएसँगै संसद्ले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन लागेको हो । त्यसका लागि आज दिउसो १ बजे ब्यबस्थापिका संसदको बैठक बस्दै छ । संसद बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट प्राप्त पत्र सभामुख सुबास चन्द्र नेम्वाङले वाचन गरेपछि प्रधानमन्त्री निर्वाचनको मिति घोषणा गरी संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बताइएको छ ।
सचिवालयले भोली नै प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ताको कार्यसूचि बनाउने तयारी गरेको सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिए । आइतबार सम्ममा प्रधानमन्त्री चयनका लागि संसदमा मतदान हुने तयारी रहेको स्रोतले जनाएको छ ।
सहमति सरकार गठनका लागि संसदमा रहेका सबै दलको सहमति र समर्थन चाहिन्छ तर तराईमा भैरहेको आन्दोलनले मधेसवादी दलको समर्थन नरहने निश्चित भएपति दलहरुले सहमतीय सरकार गठनका लागि पहल पनि गरेका थिएनन ।
५ सय ९८ सदस्य बहाल रहेको सदनबाट प्रधानमन्त्री पदमा निर्वाचित हुन कम्तीमा २ सय ९९ मत आवश्यक पर्छ । सदनमा रहेका प्रमुख तीन दलबीच सहमति नभएमा कांग्रेस, एमाले र एकीकृत माओवादीमध्ये कुनै दुई दलको गठबन्धनले राप्रपा नेपाल, राप्रपासहित साना दलको समर्थन जुटाउनुपर्छ ।