प्रधानमन्त्रीको चुनाव आइतबार
काठमाडौं, २२ असोज । आगामी आइतबार संसदले नयाँ प्रधानमन्त्रीको चयन गर्ने भएको छ । प्रधानमन्त्री चयनका लागि सभामुख सुवास नेम्वाङले असोज २४ गते बिहान ११ बजेका लागि संसद बैठक आह्वान गरेका छन् । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दिएको एक साताको म्याद समाप्त भएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न शुक्रबार संसदलाई पत्र पठाएका थिए । सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको एक साताको म्याद विहीबार सकिएको थियो । राष्ट्रपति कार्यालयले संसद्लाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया अघि बढाउन पत्र पठाएको हो । राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएसँगै संसदले शुक्रबारैदेखि बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया प्रारम्भ गरेको छ ।
संसद सचिवालयका अनुसार बहुमतीय प्रक्रियाका लागि शनिबार उम्मेदवारी दिने, फिर्ता लिनेलगायत चुनावी कार्यक्रम सन्चालन गर्ने र आइतबार प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरिएको छ । ५ सय ९८ सदस्य रहेको सदनबाट प्रधानमन्त्री पदमा निर्वाचित हुन कम्तिमा २ सय ९९ मत आवश्यक पर्छ । सदनमा रहेका प्रमुख तीन दलबीच सहमति नभएमा कांग्रेस, एमाले र एकीकृत माओवादीमध्ये कुनै दुई दलको गठबन्धनले राप्रपा नेपाल, राप्रपासहित साना दलको समर्थन जुटाउनुपर्छ ।